मलेसियाको सीबीएल मनी ट्रान्सफर र माछापुच्छ्रे बैंकबीच रेमिट्यान्स सेवा सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंकले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरसँग औपचारिक सम्झौता गरेको छ । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ सम्झौता गरिएको हो ।
बैंकले मलेसियामा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ मलेसियास्थित मनी ट्रान्सफरसँग सहकार्य गरी विधिवत रुपमा रेमिटेन्स सेवा सुरुवात गरेको हो । रेमिट्यान्स सम्बन्धि उक्त सम्झौतापत्रमा सीबीएलका प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरे ।
सम्झौता पछि अब मलेसियामा रहेका नेपालीहरुले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरका १५ वटा शाखा र सीबीएल मनी ट्रान्सफरको सिटी रेमिट एप बाट एमबीएल रेमिट गरी नेपाल रकम पठाउन सक्नेछन् । नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखा, ९९ शाखारहित बैंकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ ।
साथै सीबीएल मनी ट्रान्सफर र सिटी रेमिट एपबाट एमबीएल रेमिट गरि पठाइएको रेमिटेन्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ । मलेसियामा रहेका नेपाली कामदारहरूको सुबिधाको लागि माछापुच्छ्रे बैंकले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपको सेवा पनि उपलब्ध गराएको छ ।
माछापुच्छ्रे बैंकले पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६५ वटा शाखा, ९९ शाखारहित बैंकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएममार्फत १७ लाख भन्दा बढि ग्राहकलाई अत्याधुनिक प्रविधि सहित सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरीरहेको छ ।