सङ्घीय मामिलामन्त्री राजकुमार गुप्ता अमेरिका प्रस्थान

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता अमेरिका प्रस्थान गर्नुभएको छ ।
संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजना हुने आदिवासी जनजातीहरूका मुद्दाहरूसम्बन्धी संयुक्त राष्ट्रसंघीय स्थायी मञ्चको चौबीसौँ सत्र ‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यू (यूएन–पीएफआईआई)’ मा सहभागी हुन उहाँ आज शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
उहाँले यही वैशाख ८ देखि १९ अर्थात् अप्रिल २१ देखि मे २ तारिखसम्म आयोजना हुने सो कार्यक्रममा सहभागिता जनाउनुहुनेछ । उहाँ वैशाख १९ गते स्वदेश फर्किने कार्यतालिका छ ।
यूएन–पीएफआईआई विश्वभरका आदिवासी जनजातीहरूको अधिकार र सरोकारहरूलाई सम्बोधन गर्ने संयुक्त राष्ट्र संघभित्रको एक शक्तिशाली निकाय हो । यसले आदिवासी जनजातीसँग सम्बन्धित मुद्दाहरूका लागि संयुक्त राष्ट्र संघको प्रणालीभित्र समन्वयकारी निकायको रुपमा काम गर्दै आएको छ ।
यस्तै, संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् (ईसीओएसओसी) को सल्लाहकारको रूपमा पनि यो निकायले काम गर्छ । ‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यू’मा आर्थिक तथा सामाजिक विकास, संस्कृति र वातावरण संरक्षण तथा शिक्षा, स्वास्थ्य र मानवअधिकारसँग सम्बन्धित मुद्दाहरूका विषयमा व्यापक छलफल हुने बताइएको छ ।
साथै, संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्र संघको प्रणालीभित्र आदिवासी जनताको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र कार्यान्वयन गर्ने विषयमा राम्रो अभ्यासहरूको पहिचान र चुनौतीहरूको सम्बोधन गर्ने प्रयत्न यो फोरमले गर्ने छ ।