देवː विकास बैंकले वेष्ट्रनलाई एक बराबर एकको अनुपातमा गाभ्ने |

काठमाडौं । देवː विकास बैंकले वेष्ट्रन डेभलपमेन्ट बैंकलाई एक बराबर एकको अनुपातमा गाभ्ने भएको छ । गाभ्ने गाभिने प्रस्ताव सहित दुबै बैंकले असार १२ गते वार्षिक साधारणसभा डाकेका छन्। देवː विकास बैंकले यस अगाडि वेष्ट्रन डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रस्ताव गरेको थियो ।
वेष्ट्रनले साधारणसभामा चुक्ता पुँजीको १४.७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको हालको चुक्ता पुँजी ५० करोड ४० लाख रुपैयाँ रहेको छ । यसै पुँजीका आधारमा बैंकले ७ करोड ४२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । बैंकले हाल संस्थापक र सर्वसाधारण समुहको शेयर अनुपात ५५.१७ प्रतिशत र ४४.८३ प्रतिशतको अनुपातलाई ५१ प्रतिशत र ४९ प्रतिशत बनाउने गरी शेयर संचरना परिवर्तन गर्ने भएको छ ।
त्यस्तै देवː विकास बैंकले आगामी साधारणसभामा चुक्ता पुँजीको ५.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव अगाडि सारेको छ । बैंकको हालको चुक्ता पुँजी दुई अर्ब ५३ करोड रुपैयाँ रहेको छ । बोनस शेयरपछि बैंकको चुक्ता पुँजी दुई अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ । वेष्ट्रनलाई गाभेसँगै देवको चुक्ता पुँजी तीन अर्ब १७ करोड रुपैयाँ पुग्ने छ ।
निक्षेप संकलन २१ अर्ब ३० करोड रुपैयाँ नाघ्नेछ भने ऋण लगानी १९ अर्ब ८९ करोड रुपैयाँ पुग्नेछ । देवको तुलनामा वेष्ट्रनको खराव कर्जा र कस्ट अफ फण्ड कम छ ।
बैंकले साधारणसभा प्रयोजनका लागि असार ६ गतेदेखि १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । वेष्ट्रनको हकमा देवः विकास बैंकसँग गाभिने सम्झौता गरेसँगै २०७५ असार २७ गतेदेखि दोस्रो बजारमा कारोबार रोक लगाइएको छ ।
Visited 2 times, 1 visit(s) today


