बैंकहरुको रियल टाइम ग्रस सेटलमेन्ट गर्न एनसीएचएलको बैंकहरुसँग सम्झौता |
काठमाडौं । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनको लागि नेपाल क्लियरिङ हाउस र अधिकांश वाणिज्य बैंकहरुसँग इन्टिग्रेसन पार्टनरको रुपमा काम गर्ने गरी सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकले लागु गर्न लागेको आरटीजीएसका लागि नेपाल बैंकर्स संघको पहलमा सम्झौता भएको हो । सम्झौता कार्यक्रममा राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना, सक्षम– एसेज टु फाइनान्स फर पुअर प्रोग्रामका प्रमुख निर्मल दहाल, राष्ट्र बैंकका उच्च पदाधिकारीहरु, बैंकका प्रमुखकार्यकारी अधिकृतहरु तथा अन्य प्रतिनिधिहरुको उपस्थितिमा विभिन्न वाणिज्य बैंकहरुसँग भिन्दा–भिन्दै सम्झौता गरिएको छ ।
सम्झौता अनुसार, क्लियरिङ हाउसले बैंकहरुलाई आरटीजीएस प्रणाली मार्फत् कारोबारहरु गर्न तथा आफ्नो कोर बैंकिङ प्रणालीमा जोड्न चाहिने आवश्यक (आरटीजीएस इन्ट्रिग्रेसन मिडिलवेयर) उपलब्ध गराउने छ ।
क्लियरिङ हाउसले आफ्ना सदस्य बैंक तथा वित्तिय संस्थाहरुलाई एनसीएचएल (ईसीसी, एसीएचएल(आइपीएस, कनेक्टआइपीएस लगायत अरु आवश्यक इन्ट्रिग्रेसन तथा एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस (एपीएल्स) उपलब्ध गराउँदै आएको छ ।
संचालनमा रहेका प्रणालीहरुलाई आवश्यक परिमार्जन गरी बैंकहरुलाई आरटीजीएस प्रणालीमा समेत इन्ट्रिग्रेसन गर्ने गरी परियोजना विकास गरिएको छ ।
आरटीजीएस प्रणाली मार्फत् आबद्ध भएका सदस्य बैंक तथा वित्तिय संस्थाहरुबीच ठूलो रकमको कारोबारहरु र राष्ट्रिय भुक्तानी प्रणालीहरुका अन्तिम फछ्र्यौटका कार्य हुने गर्दछ ।



