शहीद पत्नीको गुनासो, ‘नेताहरुले मधेशी जनताको सपना बेचेर कुर्सी किन्न पुगे’

बारा । संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा बारा जिल्लाको ऐतिहासिक शहर कलैयामा एक विशाल, भावनात्मक र जनभावनाले ओतप्रोत जनजागरण अभियान अन्तरगतको रैली, अन्तरक्रिया तथा सभा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमले केवल राजनीतिक भाषणको मञ्च नभई नेपालका सम्पूर्ण उत्पीडित जनताको जीवन्त पीडा, आशा र आकांक्षालाई उजागर गर्ने साझा थलोको रुपमा उपस्थित भएको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल संघीय समाजवादी पार्टीका उपमहासचिव जनक कार्कीले गरेका थिए भने अध्यक्षता नेपाल संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष अनवर अन्सारीले गरे । उनको नेतृत्वमा आयोजना गरिएको यो कार्यक्रमले मधेशको राजनीतिक धड्कनलाई गहिरो रूपमा स्पर्श गरे ।
कार्यक्रममा मोर्चाका संयोजक नेपाल सङ्घीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी, नेपाल जनजागृति पार्टीका अध्यक्ष धुपलाल निषाद, बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन अम्बेडकर, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो लगायत पाँच दलका शीर्ष नेताहरू, केन्द्रीय सदस्यहरू, जिल्लास्तरीय नेताहरू तथा हजारौं जनताको आत्मीय सहभागिता थियो । त्यहाँ नेताहरू मात्र थिएनन्, नाराहरू मात्र थिएन, त्यहाँ थियो मधेशको भावना, उत्पीडनको इतिहास र न्यायको लडाइँ ।
कार्यक्रमको सुरुवात मधेश आन्दोलनका शहीदहरू हिफाजत अन्सारीकी आमा बेगन खातुन र शेख अशरफकी धर्मपत्नी शोभा राजवंशीलाई दोसल्ला ओढाएर सम्मान प्रकट गर्दै गरिएको थियो । तर त्यो सम्मानको क्षण केही बेरमै भावनात्मक हुनुका साथै आँशुमा परिणत भयो । शोभा राजवंशीले भक्कानिँदै भनिन्, ‘हामीले आफ्ना श्रीमान गुमायौं, सपना गुमायौं। हामीले सोचेका थियौं, हाम्रो बलिदानले केही बदलिन्छ। तर यिनीहरू (नेताहरू) त सत्तामा पुगेर हामीलाई त के, आफन्तलाई पनि बिर्सिए। मधेसी जनताको सपना बेचेर कुर्सी किन्न पुगे ।’
उनको आँखा रसाएका मात्र थिएन, उनको स्वरले जनताको मौन पीडालाई चिच्याएर बोलिदिएको थियो । त्यो क्षणले पूरै सभा भावविह्वल बनायो, र उपस्थित नागरिकहरूका आँखामा पनि आँसु झल्झलाएको थियो ।
नारा मात्र होइन, न्यायको आवाज
नगर परिक्रमा गरिएको रैलीमा हजारौं जनताको सहभागिता थियो । तिनीहरूले बुलन्द आवाजमा भनेः “समग्र मधेस एक प्रदेश”, “भ्रष्टाचारको अन्त्य गर’, ‘शोषणमुक्त समाजको निर्माण गर’, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर’, ‘उर्दु विश्वविद्यालय स्थापना गर’, ‘निषाद तथा ओबिसी आयोग गठन गर’, ‘मदरसा शिक्षा विधेयक पारित गर’, ‘मधेशी तथा उत्पीडितहरूको सेनामा सामूहिक प्रवेश सुनिश्चित गर’ । यी नाराहरू नारामात्र थिएनन्, ती आवाज थिए — सदियौंदेखि दबिएको, चिच्याउन खोजिरहेको, तर सुनुवाइ नपाएको आवाज ।
गठबन्धनका संयोजक तथा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री अन्सारीले आफ्नो गम्भीर र ओजपूर्ण मन्तव्यमा भने, ‘अब यो आन्दोलन रोकिन्न । यो उत्पीडित जनताको क्रान्ति हो । हामी अब न झुक्छौं, न बिक्छौं । हामीले मधेश र नेपालका शोषित जनताको राज्यसत्ता स्थापना गरेरै छाड्नेछौ ं। २०८४ को निर्वाचन हाम्रो परीक्षण मात्र होइन, हाम्रो विजयको सुरुवात हुनेछ ।’
उनले भ्रष्टाचार, बेइमानी र विभेदको विरुद्ध सम्पूर्ण उत्पीडित समुदायलाई एकीकृत संघर्षमा होमिन आह्वान गरेका छन् ।
बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन अम्बेडकरले भने, ‘जुन समाजमा जातीय, लैङ्गिक, धार्मिक वा क्षेत्रीय विभेद रहन्छ, त्यहाँ स्थिरता र समृद्धिको सपना सधैँ अधुरो रहन्छ। संविधान संशोधन गरेर मात्र न्याय सम्भव छ ।’
यसैगरी, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले स्मरण गराए, ‘गजेन्द्र नारायण सिंहले सुरु गरेको आन्दोलन हामीले बोकेको छौं। जबसम्म धोकेबाज नेताहरू राजनीतिक रूपमा समाप्त हुँदैनन्, मधेशी जनताको मुक्तिको सपना अधुरो नै रहन्छ ।’
नेपाल जनजागृति पार्टीका अध्यक्ष धुपलाल निषादले निषाद समुदायको निरन्तर उपेक्षा र संविधानमा पहिचानको अभावको विरुद्ध आवाज उठाउँदै भने, ‘निषाद आयोग गठन गरियोस्, निषाद समुदायको जल, जंगल, जमिनमा अधिकार सुनिश्चित गरियोस्। हामी यो लडाइँमा अग्रपङ्क्तिमा रहन्छौं ।’
यो कार्यक्रम केवल राजनीतिक सभा थिएन, यो विश्वासको पुनर्जागरण थियो । शहीद परिवारको आँसु, नेताहरूको प्रतिबद्धता र जनताको उत्साह मिलेर एउटा नयाँ यथार्थ जन्माइरहेका थिए । अब मधेशी जनताको आत्मसम्मानको पुनःस्थापना हुने छ। अब उनीहरूले इमानदार राजनीतिक विकल्प पाएका छन् ।
संघीय गणतान्त्रिक गठबन्धनको यो जनजागरण अभियानले मधेश र सम्पूर्ण उत्पीडित समुदायलाई एउटा बाटो देखाएको छ — संघर्षबाट समता, आन्दोलनबाट अधिकार र आँसुबाट परिवर्तनको । यो केवल कार्यक्रम थिएन — यो शहीदहरूको सपना थियो, न्यायको उद्घोष थियो र आत्मसम्मानको बत्ती थियो ।