प्रदेश १ को राजधानी विराटनगरमै राख्ने नेकपाले गर्यो निर्णय |
विराटनगर । प्रदेश १ को स्थायी राजधानी विराटनगरमै राखिने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी राजधानी विराटनगर बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ ।
नेकपा संसदीय दलको निर्णयअनुसार प्रस्ताव दर्ता भएको हो । राजधानी विराटनगर रहने तर, कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने नेकपा संसदीय दलले निर्णय गरेको छ ।
मुख्यमन्त्री शेरधन राईले सहमतिका लागि यस्तो प्रस्ताव अघि सारिएको बताए । प्रदेशको स्थायी राजधानीबारे प्रदेशसभामा चार वटा प्रस्ताव दर्ता भएका छन्, जसमा धनकुटा र विराटनगर प्रदेश राजधानी हुनुपर्ने उल्लेख छ ।
सत्तारुढ नेकपाकै तीन सांसदले धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने प्रस्ताव राखेका छन् । संसदीय दलको निर्णय विपरित दर्ता भएको प्रस्तावको प्रस्तावक निरन राई तथा समर्थक इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठ छन् ।
मुख्यमन्त्री राईले भने नेकपाका सांसदहरुलाई अराजक हुने छुट नभएको भन्दै कारबाही गर्ने चेतावनी दिए । प्रदेशको स्थायी राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा नेकपाको दुई तिहाई बहुमत छ ।
नाम भने टुंगिन वाँकी
मुख्यमन्त्री राईका अनुसार प्रदेशसभाको नामबारे अहिले कुनै प्रस्ताव दर्ता हुने छैन । सभामुखसँग परामर्शपछि यही वा अर्को अधिवेशनमा प्रस्ताव ल्याउने तय गरेको छ ।
Visited 3 times, 1 visit(s) today


