निːशुल्क बीमा शब्द हटाउन बैंकहरुलाई बीमा समितिको निर्देशन |
काठमाडौं । बैंकहरुले बचत निक्षेपमा प्रदान गर्दै आइरहेका बीमा अफरमा ‘निːशुल्क’ बीमा हुन्छ भन्ने अर्थ लाग्ने गरि शब्दको प्रयोग नगर्न बीमा समितिले निर्देशन दिएको छ । राष्ट्र बैंकले आयोजना गरेको आगामी आर्थिक वर्षको पुर्व बजेट छलफलमा बीमा समितिका अध्यक्ष चिरन्जीवि चापाँगाईले बैंकहरुलाई निːशुल्क शब्द हटाउन निर्देशन दिएका हुन् ।
बैंकहरुले बीमा कम्पनीहरुसंगको सहकार्यमा अहिले निक्षेप खाता खोल्न निːशुल्क बीमा अफर सञ्चालन गर्दै आइरहेका छन् । यो राम्रो भए पनि बैंकहरुले पनि प्याकेजमा बीमाको प्रिमियम तिरिरहेको चापाँगाईले बताए । तर केहि बैंकहरुले सितैमा बीमा भन्दै अफर सञ्चालन गर्दै आइरहेको उनले बताए ।
बीमा कहिल्यै सितैमा हुदैन् । बैंकहरुलाई म सितैमा भन्ने शब्द हटाउन आग्रह गर्दछु ।’ अन्यथा बीमा समितिले सोच्नुपर्ने अवस्था नबनाउन चेतावनी दिए ।
अध्यक्ष चापाँगाईले लगानीको दायरा बढाउन बीमकको लागि लागानी निर्देशिका बनाईसकेको जनाउँदै रियल स्टेट, पुर्वाधार आदि क्षेत्रमा लगानी गर्न सक्ने गरी लगानीको क्षेत्रलाई खुला राख्न बजेटमा व्यवस्था गर्न सुझाब दिए ।
यस्तै कृषि बीमा अन्र्तगत दिईरहको ७५ प्रतिशत अनुदान निरन्तरता दिँदै लघुबीमा कार्यक्रममा पनि ७५ प्रतिशत अनुदान दिने व्यवस्था राख्न सुझाव दिए । यसले न्यून आय भएको व्यक्तिहरु बीमाको पहुँचमा समेटिने उनको भनाई छ ।
विपत व्यवस्थापनमा बीमालाई संस्कृतिको रुपमा स्थाति गर्दै अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताए । एक करोड सम्मको सम्पत्तिको बीमा ४ हजारमा हुने बताउँदै यस्तो योजना गाँउगाँउ सम्म पुर्याउनुपर्ने उनको धारण छ ।
प्रतितपत्र (एलसी) को काम नेपालको बीमा कम्पनीले गर्ने वातावरण तयार गर्न अध्यक्ष चापाँगाईले सुझाब दिए । त्यसो भए नेपालको बीमा कम्पनीले विजनेश पाउने र विदेशमा मुद्रा नजाने उनको भनाई छ ।


