राष्ट्र बैंकले नयाँ खाता खोल्नेलाई १ सय रुपैयाँ दिने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘खोलौ बैंक खाता’ अभियान सञ्चालन गर्नका लागि २०७६ सालमा खोलिएका खातामा १०० रुपैयाँ बैंकका तर्फबाट राखिदिन छुट दिएको छ । यो पैसा बैंक तथा वित्तीय संस्थाहारुले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट बचत खाता खोल्नेलाई हालिदिन पाउने छन् ।
खाता खोल्ने प्रकृयालाई पनि सरलीकरण गरिएको छ । बैंकहरुले फारम नै सरलीकृत बनाउनु पर्छ भने खाता खोल्दा ग्राहकको अन्य बैंक खाता नभएको स्वघोषणा लिनु पर्नेछ ।
अब कागजपत्रमा पनि सहजीकरण गरिएको छ । ग्राहक पहिचान तथा सम्पुष्टी गर्दा नागरिकताको प्रमाणपत्र वा राहदानी वा फोटोसहितको मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमतिपत्र वा कुनै सरकारी निकायले जारी गरेको फोटो सहितको परिचयपत्र वा सम्बन्धित स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटो सहितको सिफारिसको आधारमा पनि खाता खल्ने छ ।
यसरी खोलिएको खाताको बार्षिक अधिकतम कारोबार सीमा १ लाख रुपैयाँ मात्र हुनु पर्छ । १ लाख रुपैयाँ नाघेमा भने तीन पुस्तेसहित सबै विवरण बुझाउनु पर्ने हुन्छ ।

