माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेलबीच ‘रेमिटएप’ सम्झौता, १० हजार ठाउँबाट भुक्तानी |
काठमाडौं । माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच रेमिटेन्स सेवा सम्वन्धि समझदारी भएको छ । विदेशबाट रेमिटेन्स पठाउने नेपालीहरुका साथै बैंकका ग्राहकलगायत सम्पूर्णका लागि त्रिपक्षीय समझदारी भएको हो ।
समझदारीसँगै ‘रेमिटएप’ सेवा शुरु भएको छ । यसबाट अनलाइन, मर्चेन्ट भुक्तानीलगायतका सेवा ‘इन्डिकृप्टेड भर्चुअल मनि कार्ड’ मार्फत गर्न सकिने बैंकले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरेर नयाँ सेवाका बारेमा जानकारी दिइएको हो ।
अहिले रेमिटेन्स पठाउने माध्यमहरुबाट बढि समय र खर्च लाग्ने गरेको भन्दै यसबाट आफ्नो खाता वा वालेटमा एकैछिनमा पैसा आउने विज्ञप्तिमा उल्लेख छ । नेपालका १० हजार स्थानबाट रकम झिक्न सकिन्छ ।
नयाँ सेवाबाट माछापुच्छ्रेका ग्राहक तथा अन्य सर्वसाधारणले लाभ लिनसक्ने विज्ञप्तिमा जनाइएको छ । यसमा स्थानीय रेमिटेन्स र बिल भुक्तानीको सुविधा पनि छ । बैंक खाताबाट वालेटमा र वालेटबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

