आँधी प्रभावितलाई एनआरएनए चीनको ७ लाख सहयोग |

काठमाडौं । बारा र पर्साका आँधी प्रभावितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले ७ लाख भन्दा बढी सहयोग गरेको छ । सहयोग रकम एनआरएनएको काठमाडौंस्थित सचिवालयमा अध्यक्ष भवन भट्टलाई हस्तान्तरण गरिएको हो ।
एनआरएनए चीनका तर्फबाट संरक्षक शंकर ज्ञवाली, व्यवसायी मिर्जा रासिद बेगले ७ लाख दुई हजार ९६४ रुपैयाँ भट्टलाई बुझाएको महासचिव सुशील बेलवासेले जानकारी दिए ।
२८ जनाको मृत्यु हुने गरी आएको आँधीबाट प्रभावितहरूका लागि पहिलो चरणमा राष्ट्रिय समन्वय परिषदले संकलन गरेको ४ लाख र क्षेत्रीय संगठन इयुबाट संकलन गरिएको एक लाख ३६ हजार ५०० संकलन भएको थियो ।
दोस्रो चरणमा राष्ट्रिय समन्वय परिषद चीन र क्षेत्रीय समिति चच्याङ्ग (इयु) ले एक लाख ६६ हजार ४६४ रुपैयाँ संकलन गरेका थिए ।सहयोग रकम सचिवालयमार्फत प्रभावितलाई हस्तान्तरण गरिने एनआरएनएले जानकारी दिएको छ ।