बीमा कम्पनीलाई तोकिएको पुँजी पुर्याउन सकस |
काठमाडौं । बीमा कम्पनीहरुलाई तोकिए अनुसारको पुँजी पुर्याउन सकस परेको छ । बीमा क्षत्रेको नियमनकारी निकाय बीमा समितिले आगामी असार मसान्तसम्म तोके अनुसारको पुँजी पुर्याउन अधिकांस बीमा कम्पनीहरुलाई मुश्किल परेको हो ।
बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई एक अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । जीवन बीमाका लागि भने समितिले २ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ । तर, अधिकांश बीमा कम्पनीहरुले पुँजी पुर्याउन लामो समयदेखि सकेका छैनन् ।
आर्थिक वर्ष २०७४∕७५ को असामसान्तसम्ममा नै चुक्ता पुँजी पुर्याउन बीमा समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । अधिकांश कम्पनीहरुले तोकिएको चुक्ता पुँजी पुर्याउन नसकेपछि बीमा समितिले ३∕३ महिना गरेर बढीमा ६ महिनामात्रै समय थप गरिने बताएको थियो ।
त्यो ६ महिना पनि गत पुसमै पुरा भइसकेको छ । चालु आर्थिक वर्षको पुस मसान्तमा पनि बीमा कम्पनीहरुले पुँजी पुर्याउन नसकेपछि समितिले असारमसान्तसम्मको समय सीमा दिएको छ ।
थप गरिएको समय पनि सकिन पनि अब ३ महिनामात्रै वाँकी छ, तर अधिकांश बीमा कम्पनीहरुको पुँजी पुग्न सकेको छैन ।
यी हुन पुँजी पुर्याउने बीमा कम्पनीहरु
हाल नेपालमा ३९ वटा बीमा कम्पनीहरु सञ्चालित छन् । जीवन बीमा तर्फ १९ र निजर्नीवन बीमा तर्फ २० वटा कम्पनीहरु अहिले सञ्चालित छन् ।
सञ्चालनमा रहेका ३९ बीमा कम्पनीहरु मध्ये ४ वटा बीमा कम्पनीहरुले मात्रै तोकिए अनुसारको चुक्ता पुँजी पुर्याएको बीमा समितिले जानकारी दिएको छ ।
निर्जीवन तर्फ शिखर इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी र हिमालय इन्स्योरेन्स कम्पनी गरी ३ वटाले तोकिएको पुँजी पुर्योएका छन् ।
जीवन बीमा तर्फ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै पुँजी पुर्याएको छ । असार मसान्तसम्म पनि पुँजी पुर्याउन नसके मर्जरमा लैजाने बीमा समितिको तयारी छ । यद्यपि, यस विषयमा समितिले कुनै निर्णय भने अहिले नै गरिसकेको छैन ।

