प्रदेश ५ को रू. १ करोड सहयोग हुरीबतासका पीडितलाई | प्रदेशसभा सदस्यहररूको १० लाख रुपैयाँबराबरको स्वास्थ्य बीमा कार्यक्रम पनि तत्कालै कार्यान्वयनमा आउँदै
बुटवल । प्रदेश ५ सरकारले हालै आएको विध्वंसकारी हुरीबतासबाट सबैभन्दा धेरै जनधनको क्षति पुगेको प्रदेश २ को बारा र पर्साका प्रभावित जनतालाई रू. १ करोड सहयोग गर्ने भएको छ । प्रदेश ५ को मन्त्रिपरिषदको आज शुक्रवार बसेको वैठकले उक्त निर्णय गरेको हो ।
प्रदेश ५ सरकारले प्रदेश २ सरकारको खातामा जम्मा हुने गरी प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम जम्मा गर्ने निर्णय आजको बैठकले गरेको सरकारका प्रवक्ता तथा मन्त्री वैजनाथ चौधरीले बताए ।
त्यसैगरी, प्रदेश सभाका विपक्षी दलका नेता ८२ वर्षीय बलदेव शर्मा पोखरेल क्यान्सर रोग लागेर काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत रहेकाले उनलाई पनि ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशसभा सदस्यहरुको १० लाख रुपैयाँबराबरको स्वास्थ्य बीमा गर्ने प्रदेश सरकारको नीतिलाई तत्कालै कार्यान्वयनमा ल्याउने निर्णयसमेत गरेको प्रवक्ता चौधरीले बताए ।
स्वास्थ्य बीमापछि भविष्यमा प्रदेशसभा सदस्य र मन्त्रीहरू बिरामी भएमा उपचारका लागि १० लाख रुपैयाँसम्म सरकारले सहयोग गर्नुपर्ने छैन । वैठकले प्रदेश ५ को आवधिक योजनाको आधारपत्र स्वीकृत पनि गरेको छ ।

