विदेशी लगानीकर्ताका लागि पूँजी बजार खुला गरिने अर्थमन्त्रीको घोषणा |
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बैंकिङ र बीमासँगै पुँजीबजार पनि विस्तार र विदेशी लगानीकर्ताका लागि पनि खुला गरिँदै लैजानु पर्ने बताएका छन् । पुँजी बजारमा विभिन्न तरिकाबाट विदेशी लगानीकर्ता भित्र्याउनुपर्ने उनको भनाई थियो ।
वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पुँजी बजारमा कुनै न कुनै हिसाबले विदेशी लगानीकर्ता भित्र्याउनुपर्ने उनले बताए । पुँजी बजारको विस्तार र यसको खुलापनका लागि दक्षिण एसिया अलि पछाडि देखिएको भन्दै उनले नेपालसहित दक्षिण एसियाले विदेशी लगानीलाई आकर्षित गरिरहेको बताए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको साफा इन्टरनेशनल कन्फेरेन्स उद्घाटन गर्दै खतिवडाले आर्थिक दृष्टिकोणले नेपालसहित दक्षिण एसिया नै बलियो अवस्थामा रहेको बताए । निजी क्षेत्रको लगानी आकर्षित गर्न भौतिक र बौद्धिक सम्पत्ति सुरक्षणका बलिया आधार तयार हुनुपर्ने भन्दै अर्थमन्त्री खतिवडाले नेपालमा विदेशी र स्वदेशी निजी क्षेत्रको लगानी वृद्धिका लागि सरकारले बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धि कानुन तयार गरिरहेको उल्लेख गरे ।
खतिवडाले लेखामानको स्तरोन्नतीका लागि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड लागू गर्ने तयारी भइरहेको पनि बताए । आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि आन्तरिकसँगै बाह्य लगानी आवश्यक पर्ने भएकाले नेपालले हालै लगानी सम्मेलनमार्फत विदेशी लगानीकर्ताहरू लाई यहाँ लगानीको वातावरणबारे राम्रो जानकारी गराएको उनले बताए ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले नेपालमा पनि अन्तरदेशीय धितोपत्र सूचीकरण र कारोबार गराउने तयारी भइरहेकाले त्यसमा चार्टर्ड एकाउन्टेन्टको ठुलो भूमिका हुने उल्लेख गरे । आइक्यानकम अध्यक्ष जगन्नाथ निरौला, उपाध्यक्ष कृष्णप्रसाद आचार्य तथा साफाका अध्यक्ष जगन मोहन तथा महालेखा परीक्षक टंकमणि शर्माले परिवर्तित सन्दर्भमा चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्ववपूर्ण हुने बताए ।

