विकास परिषदको बैठक शुरू, प्रमले गरे उद्घाटन | बैठकले पन्ध्रौं योजनाको आधारपत्रलाई अन्तिम रूप दिनेछ : आयोग
काठमाडौं । राष्ट्रिय विकास परिषदको बैठक आज बुधवारदेखि काठमाडौंमा शुरू भएको छ । दुईदिने उक्त बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
बैठकमा नेकपाका अध्यक्ष प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उपसभापति विजयकुमार गच्छदारको उपस्थिति रहेको छ । त्यस्तै प्रदेशका मुख्यमन्त्रीहरू, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, सांसद्हरू, योजना आयोगका अध्यक्ष, सदस्य, गभर्नर प्रदेश सरकारका योजना हेर्ने निकायहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू, स्थानीय जनप्रतिनिधिलगायत करिब ३ सय ५० जना सहभागी भएका छन् ।
राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रूपाखेतीका अनुसार बैठकले पन्ध्रौं योजनाको आधारपत्रलाई अन्तिम रूप दिनेछ । आयोगले २५ वर्षे दीर्घकालीन सोचसहित आधारपत्र तयार पारेको छ । सो आधारपत्रमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउने रणनीति छ ।
राष्ट्रिय विकास परिषदको बैठकमा प्राप्त सुझावलाई समेट्दै आधारपत्रलाई अन्तिम रूप दिएर मन्त्रिपरिषदमा पठाउने योजना आयोगको तयारी छ ।

