निर्मला पन्त प्रकरणमा मुछिएका डीएसपी अङ्गुर जिसीसँग ९ लाख धरौटी माग |
कैलाली । कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूर मुद्दा झेल्दै आएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का तत्कालीन डीएसपी अङ्गुर जिसीलाई अदालतले ९ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । कञ्चनपुर जिल्ला अदालतका जिल्ला न्यायनाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले डीएसपी जिसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिएका हुन् ।
उनलाई यातनाविरुद्धको कसुरमा रू. ५ लाख र सार्वजनिक न्यायविरुद्धको कसूरमा रू. ४ लाख रुपैयाँ धरौटी माग गरेको हो । सो प्रकरणमा तत्कालीन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसूर र भीमदत्त नगरपालिका– १९, बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसूरमा गत पुसको पहिलो साता उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।



