२० वर्षसम्म कर छुट दिने प्रदेश २ सरकारको निर्णय स्वागतयोग्य : परिसंघ |
काठमाडौं । प्रदेश नं. २ सरकारको मन्त्रिपरिषदले गरेको प्रदेश २ मा उद्योग खोलेमा २० वर्षसम्म सबै कर छुट दिने निर्णयको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । परिसंघले हिजो मंगलवार एक विज्ञप्ति प्रकाशित गर्दै उक्त निर्णयको स्वागत गरेको हो ।
गत हप्ता जनकपुरमा परिसंघ तथा प्रदेश सरकारको संयुक्त आयोजनामा ‘प्रदेश नं. २ को समृद्धिको मार्गचित्र’ विषयमा व्यापक छलफल तथा अन्तरक्रियाको आयोजना गरेको थियो । सो अन्तरक्रिया कार्यक्रममा प्रदेश नं. २ का सम्पूर्ण मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, विभिन्न राजनीतिक दलका नेताहरूलगायत सबै जिल्लाका उच्चस्तरीय सरोकारवालाहरूको सहभागिता थियो । जसमा उद्योग र कृषिबीचको अन्तरसम्बन्धलाई प्रदेश सरकारबाट जोड दिई लगानीमैत्री वातावरण तयार गरिनुपर्नेमा जोड दिइएको थियो ।
परिसंघको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश नं. २ को समृद्धिका लागि लगानी विस्तार गर्ने उद्देश्यले उक्त प्रदेश सरकारले गरेको निर्णयलाई कार्यान्वयनमा ल्याउन तथा तदारुकता साथ विद्यमान ऐन कानूनमा आवश्यक परिमार्जन, संशोधन, पुनर्लेखन गरी उद्योग र लगानीमैत्री वातावरण तयार गर्नसमेत परिसंघ आव्हान गर्दछ ।’
साथै उद्योगमैत्री वातावरण, भूमी बैंकको व्यवस्था गरी उद्योगलाई चाहिने जग्गा सहज रूपमा उपलब्ध गराइदिन, ३ घण्टामै उद्योग दर्ताको काम सम्पन्न गर्न र उद्योग क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्ने निर्णय र सोको व्यवस्था अन्य प्रदेशहरूका लागि समेत अनुकरणीय भएको समेत विज्ञप्तिमा उल्लेख छ ।



