रू. १३ अर्बको ट्रेजरी बिल आज विक्री हुँदै | ९१ दिनदेखि ३६४ दिन अवधिसम्मका, किन जारी गरिन्छ ट्रेजरी बिल ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार रू. १३ अर्ब ७९ करोड ११ लाख २५ हजारबराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट विक्री गर्न लागेको बताएको हो ।
बैंकले कूल ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएका ट्रेजरी बिलहरू विक्री गर्ने उक्त सूचनामा उल्लेख गरेको छ ।
यसअघि बैंकले गत फागुन २७ गते ९१ दिने अवधिको रू. २ अर्ब २६ करोड र ३६४ दिने रू. ५ अर्बको ट्रेजरी बिल विक्री गरेको थियो ।
राष्ट्र बैंकले ट्रेजरी बिल किन जारी गर्छ ?
ट्रेजरी बिल मुद्रा बजारमा खरिदविक्री गरिने मुख्य प्रतिभूति हो । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन केन्द्रीय बैंकले यो बिल जारी गर्ने गर्छ ।
२८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चारवटा अवधिमा जारी गरिने यस्तो बिल हप्ताको सोमवार बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्री गरिन्छ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोलकबोल गर्न सक्छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टामा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।
ट्रेजरी बिलको खरिद विक्री कसरी हुन्छ ?
ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ । ट्रेजरी बिललाई प्रमिशरी नोट सरह खरिदकर्ता र विक्रीकर्ता मिली एक–आपसमा दरपिठ गरी खरिदविक्री गर्न सकिन्छ ।




