अब नेपाली सिक्का वाणिज्य बैंकबाटै उपलब्ध हुने | राष्ट्र बैंकले १८ लाख मूल्यबराबरको सिक्का वाणिज्य बैंकलाई दिँदै
काठमाडौं । अब नेपाली सिक्का लिन नेपाल राष्ट्र बैंक नै पुग्नुपर्ने बाध्यता टरेको छ । त्यसका लागि वाणिज्य बैंकसम्म मात्र पुगे हुने भएको छ । नेपाल राष्ट्र बैंकले आज बिहीवार वाणिज्य बैंकलाई परिपत्र जारी गर्दै १८ लाख मूल्यबराबरको सिक्का लिएर सर्वसाधारणलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
१ रुपैयाँ दरका ६ लाख रुपैयाँबराबरको र २ रुपैयाँ दरका १२ लाख रुपैयाँबराबरको गरी कुल १८ लाख रुपैयाँबराबरको सिक्का अब राष्ट्र बैंकले वाणिज्य बैंकलाई उपलब्ध गराउनेछ । त्यसपछि सर्वसाधारणले वाणिज्य बैंकबाटै सिक्का पाउन सक्नेछन् ।
धरहरा पुनःनिर्माणका कारण हाल सुन्धारास्थित टक्सार महाशाखाबाट काठमाडौं उपत्यकामा सहज रूपमा सिक्का उपलब्ध गराउन लागिएको राष्ट्र बैंकले बताएको छ । उक्त परिपत्रमा भनिएको छ, ‘आम नागरिकको मागबमोजिम सहज रूपमा सिक्का उपलब्ध गराउने दायित्व केन्द्रीय बैंकको दायित्व भएकाले काठमाडौं उपत्यकाभित्रका वाणिज्य बैंकमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको हो ।’

