अनुमति पाए पाँचखालमै १ लाख १ हजार घर निर्माण गर्ने सिभिल होम्सको घोषणा |
काठमाडौं । सिभिल होम्सले सरकारबाट अनुमति पाए पाँचखालमै १ लाख १ हजार घर निर्माण गर्ने घोषणा गरेको छ । आवासीय घर निर्माणतर्फ अग्रपंतिमा रहेको उक्त कम्पनीले १ हजार १ घर निर्माण गरी विक्री गरिसकेको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्वसभासद् तथा सिभिल ग्रूपका अध्यक्ष इच्छाराज तामाङले त्यस्तो घोषणा गरेका हुन् ।
तामाङका अनुसार अब निर्माण गरिने घरहरू अत्याधुनिक र सस्तो पनि हुनेछन् । उनले भने ‘अब बन्ने घर परम्परागतभन्दा धेरै फरक डिजाइनका, एकदमै नयाँ हुनेछन्, जहाँ आधुनिक निर्माण सामग्रीको प्रयोग गरिनेछ, विकसित नयाँ प्रविधिको प्रयोग गरिनेछ र काम गर्ने तरिकासमेत परिवर्तन गर्दै छौं ।’ उनले धेरै संख्यामा निर्माण गर्न लागिएकाले ती घरको मूल्य पनि सर्वसाधारणलाई सस्तो अनुभूति हुने खालका हुनेछन् ।’
उनले सरकारबाट अनुमति पाए पाँचखालमा त्यस्ता घर निर्माण गर्ने जानकारी दिए । उनले भने, ‘सरकारले अनुमति दिए काभ्रेको पाँचखालमा एकै पटक १ लाख १७ हजार घर निर्माण गर्छौं, नपाएको अवस्थामा पोखरा, चितवन, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी, विराटगनरलगायत सातै प्रदेशको राजधानी वा मुख्य शहरमा सरकारसँग जग्गा लिजमा लिएर वा आफैंले जग्गा किनेर भए पनि कम्तिमा १ लाख १ हजार घर बनाएरै छाड्छौं ।’
पाँचखालमा १ लाख ७० हजार रोपनी जग्गामा करिब ३ लाख जनसंख्या बसोबार गर्न सक्ने स्मार्ट सिटी बनाउने योजना तामाङको छ । त्यसका लागि पाँचखालमा प्रारम्भिक सर्भेक्षणसमेत भएको उनले बताए । पाँचखालमा निजी स्वामित्वमा २५ प्रतिशत र सरकारी स्वामित्वमा रहेको ७५ प्रतिशत गरी १ लाख ७० हजार रोपनी जग्गा रहेको छ । सरकारले अनुमति दिएमा स्थानीय जग्गाधनीको सहभागितामा सरकारी जग्गा १०० वर्षका लागि लिजमा लिएर घर बनाउने उनले बताए । साथै, उक्त समुदायका लागि आवश्यक स्कूल, कलेज, अस्पताल, खेल मैदान, व्यावसायिक भवनसमेत बनाएर सञ्चालन गर्ने उनले बताए ।
उनले भने, ‘शहरी विकाससम्बन्धी नयाँ ऐन बन्दै छ । त्यसले निजी क्षेत्रलाई ल्याण्ड पुलिङ गर्ने अधिकार दिँदै छ । त्यो ऐन पास भएपछि हाल नगर विकास समितिले गर्दै आएको ल्याण्ड पुलिङको काम हामी गर्न सक्छौं । त्यसपछि हामी सातै प्रदेशका राजधानी वा मुख्य शहरहरूमा जान्छौं ।’



