जयनगर–जनकपुर रेल सेवा सञ्चालन आगामी वैशाखदेखि हुने |
धनुषा । सरकारले रेल खरिद प्रक्रिया अन्तिम चरणमा पु¥याएकाले जयनगर–जनकपुर रेल सेवा आगामी वैशाखदेखि सञ्चालन हुने भएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाटै जनकपुर जयनगर रेल सञ्चालनमा आउने जानकारी दिएका हुन् ।
गत मंसिरदेखि नै जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन गर्ने लक्ष्य रहे पनि ट्रयाक निर्माणलगायतका काम सम्पन्न नभएकाले निर्धारित समयमा रेल सेवा सञ्चालनमा आउन सकेको थिएन ।
महानिर्देशक मिश्रले भने, ‘अहिले सबै निर्माणका कार्य अन्तिम चरणमा रहेको हुँदा कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ ।’ ५ सय यात्रु बोकेर दैनिक सो स्थानमा सेवा दिने उक्त रेलले जयनगर–कुर्थाको दूरी एक घण्टामा पार गर्ने उनले बताए ।


