अघि बढ्यो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया, सरकारले बनायो छनोट समिति
 
                                                                    
                                                                काठमाडौं । सरकारले करीब डेढ महिनादेखि रिक्त धितोपत्र बोर्डको अध्यक्ष पदमा छनोट प्रक्रिया अघि बढाएको छ। सरकारले यसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ।
बोर्ड अध्यक्षको रूपमा रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएपछि छ सो पद रिक्त छ। बुधवार बसेको मन्त्रिपरिषदको बैठकले उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ।
समितिको सदस्यमा अर्थसचिव डा. कृष्णहरि पुस्करसहित उदय निरौला छन्। निरौला शंकरदेव क्याम्पसका उपप्राध्यापक हुन्। विज्ञका रुपमा निरौलालाई सदस्य बनाइएको हो।
समितिले बोर्डको अध्यक्ष छनोटको सम्वन्धी कार्यविधि बनाउने छ र सो पदको लागि विज्ञापन आव्हान गर्नेछ। कम्तीमा १५ दिनको सार्वजनिक विज्ञापन प्रकाशित गरेपछि प्राप्त आवेदनका आधारमा ३ जनाको नाम छनोट गर्नेछ र अध्यक्ष नियुक्ति गर्न सरकारलाई सिफारिस गर्नेछ।
धितोपत्र ऐन अनुसार सिफारिसमा परेका ३ जनामध्ये १ जनालाई अर्थमन्त्रीले बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने छन्। त्यसपछि मन्त्रिपरिषदको सिफारिसमा नै एक जना बोर्डको अध्यक्ष बन्ने छन्।

 
                                                                     
                                                                    