पेट्रोलपम्पका लागि नयाँ मापदण्ड, आज बेलुकीदेखि नै वेबसाइटमा राखिने | मबाट पुरानो गीत होइन, छिट्टै नतिजा पाउनुहुनेछ : कार्यकारी निर्देशक पौडेल
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल पम्पका सञ्चालनका लागि हालसम्म कार्यान्वयनमा रहेका मापदण्डहरू संशोधन गरी केही खुकुलो बनाउने भएको छ । निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले कडा मापदण्डका कारण पम्प सञ्चालनमा कठिनाइ परेको भन्दै निगमले यसलाई सहज बनाउन नयाँ मापदण्ड तोक्न लागेको जानकारी दिएका हुन् ।
आज शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नायव कार्यकारी निर्देशक भट्टराईले भने, ‘हाल लागू रहेको मापदण्डले गर्दा ग्रामीण भेगमा पम्प सञ्चालन गर्नै गाह«ो भएको तथा शहरी क्षेत्रमा चाप बढेका कारण नयाँ मापदण्ड लागू गर्न आवश्यक देखिएकाले निगमले छिट्टै नयाँ मापदण्ड तोक्न लागेको छ ।’
पुरानो मापदण्डमा पेट्रोलपम्प सञ्चालनमा धेरै जग्गा चाहिने उल्लेख छ । यस्तो मापदण्डले पहाडी क्षेत्रमा पहाड नै फोर्नुपर्ने र काठमाडौंमा नजिकै रहेको पम्प हटाउँदा अर्को पम्पमा ठूलो घुइँचो लाग्न सक्ने भन्दै मापदण्डलाई केही सहज बनाउन लागिएको उनले बताए । मापदण्ड आज शुक्रवार नै वेबसाइटमा राखिने उनले जानकारी दिएका छन् ।
मबाट त्यस्तो पुरानो गीत होइन, छिट्टै नतिजा पाउनुहुनेछ : कार्यकारी निर्देशक पौडेल
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगममा काम गर्नका लागि आफूलाई सहज भएको बताएका छन् । उदयपुर सिमेन्ट उद्योगको नेतृत्व लिएर पूर्ण क्षमतामा चल्न सक्ने भएर निगमको जिम्मेवारी पाएका पौडेलले उदयपुर सिमेण्टमा भन्दा निगममा राम्रो काम गर्ने बताए ।
उनले हल्लाभन्दा पनि काममा जोड दिने बताउँदै निगमा पनि चाँडै कामको प्रतिफल देखिने बताए । उनले भने, ‘धेरैले गीत गाउँछन्, मैले अरुले गाइसकेको पुरानो गीत गाउन खोजेको होइन, मबाट त्यस्तो पुरानो गीत होइन, छिट्टै नतिजा पाउनुहुनेछ ।’
उदयपुरमा एक्लै हुँदा पनि उद्योगलाई पूर्ण क्षमतामा चल्ने बनाएको स्मरण गर्दै उनले त्यही सूत्र प्रयोग गरेर निगमलाई पनि अगाडि बढाउने दाबी उनको थियो ।
एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघले घोषणा गरेको आन्दोलनका सम्बन्धमा उनले त्यो आन्दोलनलाई नकारात्मक हिसाबले नलिएको बताउँदै उनीहरूको समस्या चाँडै समाधान हुने जानकारी दिए । संसदीय समितिले समेत ग्यासको विषयलाई विशेष चासो दिएको भन्दै उनीहरूको जायज माग पूरा गर्न आफू सकारात्मक रहेको बताए ।
नागरिक बडापत्र पनि नयाँ राखिँदै
यसैबीच, उनले हाल निगममा राखिएको नागरिक बडापत्र पनि सीडीओ कार्यालयमा राख्ने जस्तो भएको भन्दै यसलाई चाँडै फेरबदल गर्ने जानकारी दिए । ट्यांकरले पम्पहरूमा र पम्पबाट नागरिकहरूले कति समयमा पेट्रोलियम पदार्थ पाइसक्ने भन्ने कुरा खुल्ने नयाँ बडापत्र राख्ने काम भइरहेको उनले जानकारी दिए ।

