हेस्टर बायोसाइन्सेजको नाला उग्रचण्डीमा नयाँ संयन्त्र |
काठमाडौं । गोल्छा संगठन र हेस्टर बायोसाइन्सेस् लिमिटेड इन्डियाको संयूक्त लगानी रहेको हेस्टर बायोसाइन्सेज नेपाल प्रालीले काभ्रे जिल्लाको नाला उग्रचन्डीमा नयाँ संयन्त्रको समुद्घाटन गरेको छ । हेस्टर बायोसाइन्सेज नेपाल निजी क्षेत्रद्वारा सञ्चालित अग्रिम हेल्थ केयर कम्पनी हो ।
बुधबार नालाको उग्रचन्डीमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संयन्त्रको उद्घाटन गरेका हुन् । कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘नेपालमा अधिकांश मानिसहरुको आम्दानीको स्रोत पशुपालन हो । नालामा रहेको हेस्टर बायोसाइन्सेजले किसानहरुलाई पशुपालनमा मद्दत पुग्नुका साथै यसले अर्थतन्त्रमा सहयोग पुर्याउँदै घरेलु आमदानीको स्रोत बढाएर शहरीकरणमा टेवा पुर्याउनेछ । हेस्टर बायोसाइन्सेजका ९० प्रतिशत भन्दा बढि भ्याक्सीनहरु निर्यात हुन्छ ।’
अर्थमन्त्री युवराज खतिवडाले भने, ‘यस्तो प्रकारका निर्यात उन्मुख उद्यमले दिगो आर्थिक विकासमा मद्दत गर्छ । हामीले यस्तो प्रकारका उद्योगहरु सञ्चालनमा प्राथमिकता दिनुपर्छ । बहुआयामी हेस्टर बायोसाइन्सेसले नेपाली र अन्तरराष्ट्रीय बजारमा पुर्याएको सेवा प्रशंसायोग्य छ ।’
हेस्टर बायोसाइन्सेस् नेपालका सीईओ तथा प्रबन्ध निर्देशक राजीव गान्धीले भने, ‘पशुहरुमा देखा परेका विभिन्न रोगहरुले खतरा निम्ताइरहेको छ । जसलाई तत्कालै समाधान गर्न जरुरी छ । हामीसँग पशुहरुका रोग निको पार्न आवश्यक पर्ने भ्याक्सीन उत्पादन गर्ने उन्नत प्रविधि छ । हाम्रो किफायती मूल्यको गुणस्तरीय उत्पादनले पशुपालनमा भोग्दै आएको समस्याहरुलाई निर्मूल पार्छ भन्नेमा हामी विश्वस्त छौँ । हामी हाम्रो उत्पादनको गुणस्तर नियन्त्रण गरेर कायम राख्न प्रयासरत छौँ ।’
गोल्छा संगठनका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘नेपालमा पशुजन्य उत्पादन वृद्घि भइरहँदा सरकारले पशुहरुको हेल्थ केयर कम्पनीलाई प्रवद्र्घन गर्न उच्च प्राथमिकता दिनुपर्छ । नेपाललाई पशुहरुका लागि आवश्यक पर्ने भ्याक्सीन उत्पादनमा आत्मनिर्भर बनाउन र भेडा र बाख्राहरुमा लाग्ने पीपीआर रोगलाई हटाउन सरकारले सहयोग गर्नुपर्छ । अर्कोतर्फ हेस्टर बायोसाइन्सेस्को उद्घाटनले नेपालमा रोजगारी सृजना गर्नेछ । त्यसबाहेक यसले राजस्व पनि वृद्वि गर्नेछ र यस संयन्त्रको उद्घाटनले आर्थिक विकासको नेतृत्व पनि गर्छ ।’
हेस्टरले उच्च प्रविधिको प्रयोग गरेर कुखुरादेखि अन्य चौपायाहरुलाई आवश्यक पर्ने भ्याक्सीन उत्पादन गर्छ । यस कम्पनीको वार्षिक कुल उत्पादन क्षमता १.२४ बिलियन डोज लाइभ र सक्रिय भ्याक्सीन हो । हाल कम्पनीको २० भ्याक्सीनका लागि लाइसेन्स् प्राप्त गरिसकेको छ भने २७ भ्याक्सीनहरु लाइसेन्स्को तयारीमा छ । कम्पनीले २ करोड डोज भ्याक्सीनहरु निर्यात गरिसकेको छ ।
Visited 1 times, 1 visit(s) today


