विदेशी ऋण ल्याउनेमा एनएमबी पहिलो | बेलायतको सीडीसी ग्रुपबाट एनएमबीले भित्र्यायो डेढ करोड अमेरिकी डलर
काठमाडौं । विदेशी संघसंस्थाबाट नेपालमा ऋण भित्र्याउने निजी क्षेत्रबाट सञ्चालित बैंकमध्येमा एनएमबी बैंक पहिलो भएको छ । सो बैंकले विदेशी संस्था सीडीसी ग्रुपबाट १ करोड ५० लाख अमेरिकी डलर कर्जा लिन सफल भएको हो ।
एनएमबी बैंकलाई ऋण उपलब्ध गराउने सीडीसी ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो । उक्त संस्थाले सव–साहारा अफ्रिका तथा दक्षिण एशियाली देशहरूमा रोजगार सृजना गरी आर्थिक विकास गर्ने उद्देश्यले लगानी गर्दै आएको छ । सीडीसीले एनएमबी बैंकको स्थलगत भ्रमणमार्फत बैंकको योजना, क्षमताको समीक्षालगायतका बारेमा विष्तृत अध्ययन गरी लगानीका लागि प्रतिवद्धता जनाएको हो ।
बैंकले नेपाल राष्ट्र बैंकबाट जारी विदेशी लगानीसम्बन्धी नीतिगत व्यवस्थालाई पूर्ण रूपमा उपयोग गरी देशमा विदेशी लगानी भित्र्याउन सफल भएको छ । यस लगानीले विगत लामो समयदेखि देखिदै आएको तरलता समस्या समाधानका लागि सहयोग पुग्नुका साथै पूर्वाधार विकास, कृषि, साना तथा मझौला, लघु कर्जा र विदेशी मुद्रा आर्जन हुने पर्यटन तथा हाइड्रोपावर क्षेत्रमा लगानी गरी दिगो विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
एनएमबि बैंकले सीडीसी ग्रुप सहित तीन वटा संस्थाहरुबाट यस प्रकारको कर्जा लागानी भित्र्याइसकेको छ र यस्तो कर्जा लगानी भित्र्याउने एनएमबि बैंक नेपालको पहिलो बैंक हो । साथै, एनएमबि बैंकले बेलायत स्थित फाइनान्सियल टाइम्सबाट लगातार यस वर्ष पनि “बैंक अफ दि ईयर २०१८” को सम्मान प्राप्त गर्न सफल भएको छ ।



