महालक्ष्मी लाइफ इन्स्योरेन्सले आइतवारदेखि कारोबार शुभारम्भ गर्दै | दुईवटा विल्कुलै नयाँ योजना, ५ वर्षभित्र उत्कृष्ट कम्पनी बन्छौं : सीईओ
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले यही माघ २७ गते आइतवारदेखि आफ्नो कारोबार शुभारम्भ गर्ने भएको छ । कम्पनीले बीमा समितिबाट पाएको अनुमतिअनुरुप जीवन बीमा बजारमा तीनवटा प्रोडक्ट लिएर कारोबार शुभारम्भ गर्ने आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो ।
अहिलेसम्मकै कान्छो अर्थात् १९औं जीवन बीमा कम्पनीको रूपमा जीवन बीमा बजारमा देखिएको यस कम्पनीले महालक्ष्मी डब्बल सावधिक बीमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बीमा र महालक्ष्मी सावधिक बीमा गरी तीन किमिमका बीमा योजनाहरू पनि आजै सार्वजनिक गरेको छ ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले सेवा शुभारम्भ र नयाँ बीमा योजनाका बारेमा जानकारी दिएका हुन् । उनले आफ्नो कम्पनीले ल्याएका प्रोडक्टहरू बीमा बजारमा विल्कुलै नयाँ रहेको बताउँदै महालक्ष्मीले दिएको जस्तो अफर कुनै पनि बीमा कम्पनीले अहिलेसम्म नै नदिएको दाबी गरे ।
सीईओ भट्टराईले भने, ‘हामीले विक्री गर्ने कम्पनीका प्रोडक्टहरू बीमा समितिबाट स्वीकृत भइसकेको र तीनवटा प्रोडक्टमध्ये दुईवटाचाहिँ नेपाली बीमा बजारमा विल्कुलै नयाँ रहेका छन् । किनकि महालक्ष्मीले सार्वजनिक गरेको जस्तो अफर अहिलेसम्म कुनै कम्पनीले दिएका छैनन् ।’

सीईओ भट्टराईले कान्छो कम्पनीको रूपमा बीमा बजारमा आएकाले अवसर र चुनौती दुवैको सामना गर्नुपर्ने अवस्था रहेको बताए । उनले दाबी गर्दै भने, ‘कम्पनी सञ्चालन भएको २ वर्षभित्र १० वटा नयाँ बीमा कम्पनीहरूमध्ये पहिलो हुने र आगामी ५ वर्षभित्र सम्पूर्ण बीमा कम्पनीमध्येमा उत्कृष्ट कम्पनी बन्ने लक्ष्य कम्पनीको छ ।’
कम्पनीका अनुसार महालक्ष्मी डब्बल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्तिपछि बीमांकको दोब्बर रकम भुक्तानी गर्ने ग्यारेण्टी गरिएको छ । त्यस्तै, लगानी फिर्ता म्यादी बीमा योजनाअन्तर्गत बीमा शुल्क भुक्तानीपश्चात् तोकिएको अवधिमा कुनै घटना भएमा एक मुष्ट बीमांक रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्तिपछि जम्मा गरेको बीमा शुल्क जस्ताको त्यस्तै पाइनेछ । तेस्रो, महालक्ष्मी सावधिक बीमा योजनामा भने न्यूनतम बीमा शुल्क सुरक्षा पाइने, बचत हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाइने अवसरहरू रहेका छन् ।
कम्पनीले माघ महिनाभित्रै काठमाडौं, वीरगञ्ज र पोखराबाट कारोबार गर्ने शुरू गर्ने जानकारी पनि दिएको छ । त्यसैगरी, फागुनको दोस्रो साता इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट कारोबार सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले बताएको छ ।
प्रादेशिक कार्यालयको हकमा भने कम्पनीले सातैवटा प्रदेशमा कार्यालयहरू एकसाथ उद्घाटन गर्ने तयारी गरिरहेको जानकारी कार्यक्रममा दिइयो ।
कम्पनीले बीमा समितिबाट १३ वटा शाखा कार्यालय सञ्चालनको स्वीकृति लिएको छ । चुक्ता पूँजी २०० करोड रुपैयाँ रहेकोमा संस्थापकहरूबाट १४० करोड रुपैयाँ चुक्ता भइसकेको छ भने ६० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले बताएको छ । आगामी असार मसान्तसम्ममा करिब ५० करोड बीमा शुल्क संकलन गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
कम्पनीको सञ्चालक समितिको अध्यक्ष मनोरञ्जनरमण शर्मा र सञ्चालकहरू उमेशलाल श्रेष्ठ, मोहनराज जोशी र सुरेश सापकोटा रहेका छन् ।



