आईएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा महेन्द्रनगरमा |
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले संयुक्त रूपमा गरेका हुन् ।
सो अवसरमा अध्यक्ष ढकालले बीमाक्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरि नै शाखा सञ्जाल विस्तार गर्ने अभियानमा लागेको आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहक महानुभावहरूलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सञ्चालक समितिका अन्य सदस्यहरूको समेत उपस्थिति रहेको उद्घाटन समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ, महाकाली यातायात समितिका अध्यक्ष डम्बरराज पन्त, कञ्चनपुर हार्डवेयर एशोसिएशनका अध्यक्ष दानसिंह ठकुराठी, पवन दुग्ध व्यवसायी समितिका अध्यक्ष निराजनबहादुर मल्ल, स्थानीय उद्योगी, व्यापारीहरूलयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरू र सहकारी संस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
यस शाखाको उद्घाटनसँगै अब उक्त कम्पनीका देशभर कुल शाखा तथा उपशाखा संख्या ४४ वटा पुगेको कम्पनीले जानकारी दिएको छ । ११ वटा सेवा काउण्टरहरूबाट सेवाग्राहीहरूलाई उच्च कोटीको सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीको आउँदा दिनमा एक सफल र सवल कम्पनीको रूपमा अगाडि बढ्ने लक्ष्य रहेको छ ।
सो अवसरमा प्रमुख कार्यकारी अध्यक्ष श्रेष्ठले कम्पनीले आव २०७५।७६ का लागि माघ २२ गतेसम्ममा करिब ७० करोड बीमा शुल्क आर्जन गरेको, कुल लगानी १ अर्ब ७ करोड रहेको जानकारी दिँदै संस्थाले २ सय ५० जना कर्मचारीहरूलाई रोजगारी प्रदान गरिरहेको जानकारी गराए ।



