बुटबलमा आयोजित बैंकिङ, बीमा र पूँजीबजार प्रदर्शनी सम्पन्न |
बुुटवल । बुटवलमा आयोजना गरिएको बैंकिङ, बीमा र पुँजी बजारसम्बन्धी प्रदर्शनी सम्पन्न भएकोे छ । ‘वित्तीय जागरणः रष्ट्रिय अभियान’ अन्तर्गत माघ ११ र १२ गते आयोजित प्रदर्शनीमा बैंक, बीमा तथा सेयर बजार सम्बन्धी सेमिनार तथा सचेतना कार्यक्रम भएको थियो । प्रदर्शनीमा बैंक, बीमा तथा सेयर बजार सम्बन्धि विविध जानकारी, बैंकिङ सेवा, बीमा सेवा, धितोपत्र व्यवसायी सेवा उपलब्ध गरिएको थियो ।
प्रदर्शनीको समापन कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले मानव जीवन, सम्पत्ती, व्यवसाय, कृषि उत्पादन लगायत हरेक क्षेत्रमा हुने आर्थिक क्षती न्युनिकरण गर्न बीमाले सहयोग पुर्याउने बताए ।
बैंकबाट कर्जा लिएर गरिने व्यवसायको जोखिम न्युनिकरण अनिवार्य रहेको उल्लेख गर्दै कृषि बीमामा सरकारले दिएको सुविधाको उपयोग गर्न आग्रह गरे । त्यस्तै ‘वित्तीय जागरणः राष्ट्रिय अभियान’का संयोजक माधव निर्दोषले पछिल्लो समय वित्तीय साक्षरता भएका मुलुक सबैभन्दा विकसित भएको उल्लेख गर्दै नेपालको आर्थिक विकासका लागि वित्तीय जागरण अनिवार्य रहेको बताए ।
प्रदर्शनीमा बीमा समिति, नेपाल धितोपत्र बोर्ड, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, विभिन्न बाणिज्य बैंकहरु, विकास बैंक, बीमा कम्पनीहरु, वित्त कम्पनी, मर्चेन्ट बैंक, लघुवित्त कम्पनीहरु, स्टक ब्रोकर कम्पनीहरु लगायतको सहभागिता रहेको थियो ।



