तातोपानी नाका खुलाउन युद्धस्तर काम हुँदै | आगामी मे १ तारिखमा खुलाई हस्तान्तरण गर्ने लक्ष्य
चौतारा । चीनका लागि काठमाडौंदेखि सबैभन्दा नजिक ११४ किमि दूरीमा रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन पुल तथा सडकको निर्माण तथा मर्मत कार्य तीव्र गतिमा अघि बढिरहेको छ । भूकम्पपछि बन्द रहेको उक्त नाका खुलाउन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण तथा मर्मत कार्य भइरहेको हो ।
उक्त नाका सन् २०१९ को मे १ तारिखमा खुलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता सहसचिव रविशंकर सैंजूले जानकारी दिए । हाल भूकम्प र २०७३ साल असारको भोटेकोशीमा आएको बाढीले क्षतविक्षत बाह्रबिसे–तातोपानी खण्डको २६ किलोमिटर सडकको मर्मत कार्य तीव्र गतिमा भइरहेको छ ।
भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भने, ‘आगामी मे १ तारिखमा नाका खुलाउने उद्देश्यका साथ दैनिक करिब १ हजार कामदारबाट युद्धस्तरमा काम भइरहेको छ ।’
भूकम्पले क्षतिग्रस्त मितेरी पुल साविक ८ मिटर चौडाइलाई बढाएर १२ मिटरमा निर्माण भइरहेको छ । भोटेकोशीको कटान र पहिरोले क्षतिग्रस्त सडकको झ्याले, डामलाङ, दश किलो, तातोपानी, कोदारी र लिपिङसहित सात स्थानमा तलबाट तार जालीसहित गाह्रो उठाइने र माथिबाट ठाउँठाउँमा भित्ता काट्ने काम भइरहेको दोभाषे मिलन शेर्पाले बताए ।



