राष्ट्रिय वाणिज्य बैंक ७७ वटै जिल्लामा पुग्ने पहिलो बैंक बन्यो, तीन वटा शाखा स्मार्ट ब्रान्च |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक ५४औं वर्षमा प्रवेश गरेको छ । बिहीबार आयोजित वार्षिकोत्सव कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल सुखी नेपाली अभियानको सफलताको लागि सबै स्थानीय तहमा मात्र नभई हरेक वडा वडामा बैंकको शाखा पुग्नुपर्ने बताए । साथै उनले विपन्न वर्ग, उत्पादनशील क्षेत्र तथा पूर्वाधार र युवास्वरोजगारकोे क्षेत्रमा प्राथमिकताका साथ कर्जा लगानी गर्नुपर्ने बताएका छन् ।
त्यस्तै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपालको आर्थिक विकासमा बैंकले खेलेको भूमिकाको सराहना गर्दैे बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणि रहेको बताए ।
बैंकका संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले विगत १० वर्ष यतादेखि बैंकको सबै वित्तीय सुचकहरु सकारात्मक ढगंले अगाडि बढिरहेको बताए । बैंकले समयानुकुल रुपमा सबै क्षेत्रमा प्रगति गर्दै गईरहेको र बैंकलाई डिजिटलतर्फ लाने क्रममा आज तीनवटा शाखालाई स्मार्ट ब्रान्चको रुपमा शुभारम्भ गरिएको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै पुस मसान्तसम्म बैंकले १ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बताए । बैैंकले यस अवधिमा खुद मुनाफा १ अर्ब ९६ करोड रुपैयाँ पुर्याएको छ । बैंकको कुल सम्पत्ति २ खर्व ४ अर्ब रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए ।
७७ वटै जिल्लामा पुग्ने पहिलो बैंक भएको छ । बैंकको २१७ शाखामध्ये नक्साल, पुल्चोक र हेटौंडा शाखालाई स्मार्ट ब्रान्चको रुपमा शुभारम्भ गरिएको छ ।



