हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा, उपराष्ट्रपतिले शुक्रबार उद्घाटन गर्ने |
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा भएको छ ।
राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा माघ ४ गते शुक्रबार बिहान ११ बजे सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पोको उद्घाटन गर्ने आयोजकले जानकारी दिएका छन् ।
एक्स्पोमा सहभागि हुन ८५ भन्दा बढी प्रदर्शकहरुले सय भन्दा बढी स्टल बुकिगं गरेका छन् । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठुलो मानिएको यो एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिती रहने अनुमान गरिएको छ । एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्ने छ ।
एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहने छ ।
चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायत लगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागि हुँदै छन् । जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरुको धेरै सहभागिता एक्स्पोमा हुने भएको छ ।
आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिंग उपकरणका क्षेत्रमा प्रख्यात भोईथ, इपीरोक माइनिगं इण्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीइआरटी हाइड्रोपावर, तोसिबा कर्पाेरेशन, डीईसी डगंफेगं इलेक्ट्रिक मेशिनरी, जेसीवी, हुन्डाइ लगायतका प्रदर्शक आकर्षणका रुपमा रहने छन् ।
यसका साथै विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबोट हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र रहेका छन् ।
यसै गरी एक्स्पोमा सहभागि भएर जलविद्युत आयोजना अवलोकन गर्न चाहनेहरुलाई हेलिकप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमा निर्माणधीन जलविद्युतब आयोजनाहरुको स्थलगत अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।



