चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो प्लास्टिक मुक्त क्षेत्र घोषणा |
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जलाई जनवरी १ तारिकबाट प्लास्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अगुवाइमा शुरुवात गरिएको उक्त अभियानमा कोका–कोला नेपाल, नेपाल आर्मी, वल्र्ड वाइड फन्ड (डब्लुडब्लुएफ), राष्ट्रिय प्राकृतिक संरक्षण कोष, हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई), पर्यटन उद्यमी, स्थानिय समुदाय लगायतले सहकार्य गरेका छन् ।
मंगलबार एक कार्यक्रमकाबीच घोषणा गरिएको प्लास्टिक मुक्त क्षेत्रको अभियानमा कोका–कोला नेपालका तर्फबाट कन्ट्री डाईरेक्टर अम्बुज सिंह, डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङ, हिमालयन क्लाइमेट इनिसिएटिभका सीइओ शिलशिला आचार्य, स्थानिय, केन्द्रिय प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
विगत ४ वर्षदेखि कोकले प्लास्टिकजन्य वस्तुको व्यवस्थापनका लागि थुप्रै सहकार्यहरु गर्दै आएको छ । डब्लुडब्लुएफका नेपालका प्रतिनिधि डा.घनश्याम गुरुङले भने, ʽहामी विश्वव्यापी समस्याको निकासका लागि स्थानिय समाधान खोजीरहेका छौँ, त्यसमध्ये प्लास्टिक पनि एक हो । स्थानिय, प्रदेश र केन्द्रिय तहबाट एकजुट भएर हामीले व्यक्तिगत र संस्थागत प्रतिवद्धतामार्फत यस अभियान कार्यन्वयनमा सफलता हासिल गर्न सक्छौँ ।’
हिमालयन क्लाइमेट इनिसिएटिभकी सीइओ शिलशिला आचार्यले भनिन्, ʽनेपालमा प्रतिदिन औसतमा करिब २० मिलियन प्लास्टिक ब्यागहरु प्रयोगमा आउने गरेको छ । प्लास्टिक झोलाहरु एक पटक प्रयोग गरेपछि त्यसलाई जथाभावी फाल्दिने हाम्रो चलनले गर्दा प्रदुषण बढेको छ । मलाई विश्वास छ कि यदि हामी सबै क्षेत्रबाट चितवन राष्ट्रिय निकुञ्जलाई एकल प्लास्टिक प्रयोग मुक्त क्षेत्र बनाउन सक्यौँ भने यसले अन्य संरक्षण गरिएका स्थान तथा सम्पूर्ण नेपालमै प्लास्टिक मुक्त क्षेत्र बनाउन प्रेरित गर्छ ।ʼ
कोका–कोला नेपालका कन्ट्री डाईरेक्टर अम्बुज सिंहले भने, ʽयो कदम हाम्रो समुदायका साथै व्यापारका दृष्टिीकोणले पनि निकै उपयुक्त हुने आशा राखेका छौँ । कोका–कोला नेपालले चितवन राष्ट्रिय निकुञ्जबाट जम्मा भएका पुर्ननवीकरण हुन प्लास्टिकजन्य फोहोरलाई सहि तरिकाले रिसाइकिल गर्नेछ । त्यस्तै कोका–कोला नेपालले आफ्ना पाटनरसँग सहकार्य गरेर रिसाइकल नहुने प्लास्टिकजन्य फोहोरका लागि समाधान खोज्न प्रयासरत रहेको छ ।ʼ
काठमाडौंमा प्लास्टिक मुक्त क्षेत्र अभियानको सफलता पश्चात चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालनमा ल्याइएको यो अभियानले संरक्षण गरिएको क्षेत्र र अन्य भूभागमा पनि शुन्य प्लास्टिकको पहल प्रभावकारी हुने आशा गरिएको छ ।



