वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुन्न मन्त्रालयमै हेल्प डेस्क स्थापना हुँदै | विदेशबाट फोन गर्दा पैसा नलाग्ने, फेसबुक, भाइबर, इमो, ह्वाट्सएपबाट पनि उजुरी दर्ता हुने

काठमाडौं । के तपाईंले विदेशमा दुःख, यातनालगायत समस्या भोगिरहनुभएको छ ? यदि त्यस्तो समस्या भोगिरहनुभएको छ भने अब तपाईंको गुनासो सिधै सरकारले सुनुवाइ गर्ने भएको छ । अबदेखि कुनै पनि नेपालीले रोजगारीको सिलसिलामा विदेशमा दुःख, समस्या, यातना भोगेको भए उद्धारका लागि सिधै सरकारसमक्ष टेलिफोन गरेर आफ्ना गुनासा, उजुरी दर्ता गर्न सक्ने भएका छन् । विदेशमा दुःख पाएका नेपाली र विदेशिन चाहनेको आवश्यक सहयोगका लागि सरकारले सहायता केन्द्र (हेल्प डेस्क) स्थापना गर्ने भएको छ ।
हेल्प डेस्क स्थापना भएपछि विदेशमा समस्या भोगेकाहरूले सरकारसमक्ष सीधै टेलिफोनमार्फत आफ्ना गुनासा र उजुरी दर्ता गरेपछि त्यसैका आधारमा सरकारले आवश्यक सहयोगका लागि पहल तथा उद्धारका लागि प्रक्रिया अघि बढाउनेछ ।
सरकारले विशेष गरी वैदेशिक रोजगारसम्बन्धी सबै गुनासो सुन्न हेल्प डेस्क सञ्चालनमा ल्याउने भएको हो । यसअघि स्थापना भएको हेल्प डेस्क प्रभावकारी नभएपछि श्रममन्त्री गोकर्ण विष्टले प्रभावकारी रूपमा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने निष्कर्ष निकाल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै आधुनिक प्रविधिसहितको हेल्प डेस्क सञ्चालनमा ल्याउन लागेका हुन् ।
हेल्प डेस्क स्थापना गर्ने तयारी अन्तिम चरणमा पुर्याइएको छ । यो हेल्प डेस्कमा फोनबाट मात्रै नभएर फेसबुक, भाइबर, इमो, ह्वाट्सएपलगायतबाट समेत गुनासो वा उजुरी दर्ता गर्न सकिनेछ ।
पछिल्लो समयमा विदेश जाने क्रममा र विदेशमा रोजगारीकै क्रममा अनेक कारण दुःख भोग्ने र अलपत्र पर्ने नेपालीको संख्या बढ्दो छ ।
सरकारले यसअघि वैदेशिक रोजगार विभागमा त्यस्तो डेस्क स्थापना गरेको थियो । नेपाल प्रहरीले हटलाइनमार्फत वैदेशिक रोजगारीका गुनासो र उजुरीको सुनुवाइ गरिरहेको छ । तर, उद्धारका लागि प्रहरीसँग स्रोतको अभाव छ । उसले ठगीका उजुरीमा मात्र पीडितलाई सहयोग गर्न सक्छ ।
मन्त्री विष्टले भने, ‘वैदेशिक रोजगारीका उजुरी र कामदारको समस्यालाई हेल्प डेस्कले तुरुन्तै अनलाइनमा दर्ता गरेर सम्बन्धित दूतावास, नियोग, विभाग तथा सरकारी निकायमा जानकारी गराएर समाधानका लागि पहल गर्नेछ । अनलाइनमार्फत उजुरी दर्ता हुनासाथै सम्बन्धित अधिकारीलाई इमेल र मोबाइलमा नोटिफिकेशन जाने गरी सफ्टवेयर विकास गरिँदै छ ।’
मन्त्री विष्टका अनुसार पछिल्लो समय म्यानपावर र दलालहरुले नक्कली भिसामा लगेर छोड्नेदेखि आश्वासनभन्दा फरक र जोखिमयुक्त प्रकृतिको काममा लगाएका कारण धेरै नेपालीहरू विदेशमा समस्यामा पर्ने गरेका छन् । उनले भने, ‘काम छोड्ने, काम गर्न नसक्नेलगायत रोजगारदाताले यातना दिएका कारण अलपत्र पर्नेहरू पनि धेरै छन् । विदेशमा ठगिएर र विभिन्न कारण अलपत्र हुने क्रम निकै बढ्यो । उनीहरूलाई गुनासो कहाँ सुनाउने भन्ने अन्योल भएपछि हेल्प डेस्क स्थापनाको तयारी गरेका हौं ।’
हेल्प डेस्कमा विदेशबाट फोन गर्दा पैसा नलाग्ने गरी टोल फ्रि नम्बर राखिने र गुनासो अभिलेखीकरण गरेर आवश्यक उद्धार प्रक्रिया पनि थालिहाल्ने योजना बनाइएको उनको भनाइ छ ।