राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानन्यायाधीश जबरालाई सपथ |
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा बुधबार उनलाई सपथ ग्रहण गराएकी हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति रहेको थियो ।
दुई दिनको सार्वजनिक सुनुवाइका क्रममा बिबिध प्रश्नहरु झेल्दै अन्तमा उनको नाम संसदीय सुनुवाई विशेष समितिले मंगलबार सर्वसम्मत अनुमोदन गरेको थियो ।

पिता युवराजशम्शेर र माता उमा राज्यलक्ष्मीका सन्तानका रुपमा विसं २०१४ मङ्सिर २८ गते काठमाडौँको कालिकास्थानमा उनको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका राणाले विसं २०३६ मङ्सिर ६ गतेदेखि अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी विसं २०५२ चैतसम्म कानून व्यवसायीका रुपमा काम गरेका थिए ।
न्यायपरिषद्को सिफारिशमा विसं २०५३ वैशाखदेखि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम शुरु गरेका राणाले विसं २०५२ चैतमा अतिरिक्त न्यायाधीशको नियुक्ति लिएर विसं २०६१ चैत ३० स्थायी न्यायाधीशका रुपमा पुनरावेदन अदालतमा र विसं २०६५ असोज ७ गतेदखि विशेष अदालतमा काम गरे ।
त्यसक्रममा पुनरावेदन अदालत दीपायल, राजविराज, बुटवलमा कायममुकायम मुख्य न्यायाधीशको काम गर्ने अवसर उनले पाएका थिए । उनी विसं २०७१ जेठ १३ गते सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका रुपमा नियुक्त भएका थिए ।



