बैंकिङ प्रणालीसँग अनलाइन कारोबार जोडियो |
काठमाडौं । बैकिङ प्रणालीसँग एकीकृत भएर अनलाइन कारोबार प्रणाली हिजो मंगलवारदेखि शुरू भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विज्ञप्ति जारी गर्दै बैंकिङ प्रणालीसँग अनलाइन कारोबार प्रणाली जोडिएको जानकारी दिएको हो ।
नेप्सेले एउटा डिम्याट (हितग्राही) खातामा एउटा मात्र कारोबार खाता जोड्न भनेको छ । एउटा डिम्याट खातालाई सदस्य दलालसँग कारोबार गर्न खोलिएको एउटा मात्र खाता जोड्नुपर्नेछ । यसको अर्थ एउटा डिम्याट खातालाई धेरै कारोबार खातासँग नजोडौं भन्ने हो ।
कारोबारको दु्रतगति, लगानीकर्ताको पहिचान र जोखिम व्यवस्थापनलाई सुनिश्चित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको नेप्सेले बताएको छ ।
तोकिएको राफासाफ बैंकमा शेयर कारोबारका लागि मात्र बैंक खाता खोलेर प्रयोगमा ल्याउन नेप्सेले लगानीकर्तालाई सचेत गराएको छ ।
अनलाइन कारोबार प्रणालीका लागि लगानीकर्ताले ब्रोकरसँग अनिवार्य रूपमा सम्झौता गर्नुपर्नेछ । यस्तो सम्झौता लगानीकर्ता र ब्रोकरको कारोबारको वित्तीय सुरक्षा सुनिश्चित गर्ने गरी तयार गरिएको छ ।
यो सम्झौतामा लगानीकर्तालाई यूजर आइडी र पासवर्ड उपलब्ध गराउन ब्रोकरलाई नेप्सेले निर्देशन दिएको छ ।




