जनवरीमा नेपाल घुम्न आए ५५ हजार पर्यटक, सबैभन्दा बढी भारतबाट |
काठमाडौं । सन् २०२३ को जनवरी महिनामा हवाई मार्गबाट नेपालमा ५५ हजार पर्यटक नेपाल आएका छन् । सन् २०२० मा कोभिड संक्रमणसँगै खस्केको पर्यटन व्यवसायले पछिल्लो समय विस्तारै लयमा फर्किन लागेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । याे तथ्यांक सामान्य महिनाकाे तुलनामा ७०-८० प्रतिशत बराबर हाे ।
नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१९ को जनवरीमा ८१ हजार २ सय ७३ जना पर्यटक नेपाल आएका थिए भने सन् २०२० को जनवरीमा ७९ हजार ७ सय २ जना पर्यटक नेपाल आए । कोभिड संक्रमणसँगै सन् २०२१ को जनवरीमा पर्यटकको संख्या ८ हजार ८ सय ७४ मा झ¥यो भने सन् २०२२ को जनवरीमा यो संख्या दोब्बरले बढेर १६ हजार ४ सय ६३ पुग्यो । बोर्डका अनुसार २०२३ को जनवरीमा भने ५५ हजार ७४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२२ को डिसेम्बरमा नेपाल आउने पर्यटकको संख्या ६७ हजार ९ सय ३२ जना थियो।
जनवरीमा सबैभन्दा बढी पर्यटक आउने देशमा छिमेकी देश भारत नै परेको छ । जनवरीमा भारतबाट १६ हजार ४ सय ३२ जना पर्यटक नेपाल आएका छन् भने दोस्रो धेरै पर्यटक आउने देशमा भने अमेरिका परेको छ । जनवरीमा अमेरिकाबाट ६ हजार ५ सय ६१ जना पर्यटक नेपाल आएका थिए । धेरै पर्यटक आउने देशको तेस्रो नम्बरमा भने यसपटक बंगलादेश परेका छन् । बंगलादेशबाट २ हजार ४ सय ६८ जना पर्यटक नेपाल आएका छन् ।


