नागरिक लगानी कोष ‘मार्केट मेकर’ बन्न छिर्यो दोस्रो बजारमा | गत मंगलवारदेखि शेयर खरिद शुरू, सहायक कम्पनी खोल्ने कार्य पनि अन्तिम चरणमा
काठमाडौं । नागरिक लगानी कोष शेयर बजारमा तीन वर्षपछि पुनः प्रवेश गरेको छ । २०७२ सालको असोज महिनादेखि दोस्रो बजारमा शेयर खरिद विक्री गर्न बन्द गरेको उक्त कोषले मंगलवारदेखि दोस्रो बजारमा शेयर खरिद गरी पुनः प्रवेश गरेको हो । कोषको यो कदमलाई बजार निर्माता (मार्केट मेकर) को काम गर्ने प्रयासको प्रारम्भिक कदमको रूपमा हेरिएको छ ।
लगानी तथा पूँजी बजारमा लगानीकर्ताहरू आत्तिइरहेको बेला दोस्रो बजारमा कोषको पुनः प्रवेश भएको छ । सरकारको यस कदमले लगानी तथा पूँजीबजारमा केही सुधार अवश्य हुन्छ भन्ने विश्वास गरिएको छ ।
पूँजी बजार र मुद्रा बजारको समस्या समाधानका लागि सुझाव दिन अर्थमन्त्री युवराज खतिवडाले गठन गरेको उच्चस्तरीय समितिको मंसिर २५ गते बसेको दोस्रो बैठकमा पनि कोषलाई मार्केट मेकरको भूमिकामा काम गराउने विषयमा छलफल भएको थियो । उक्त समितिले प्रतिवेदनमार्फत दिएको सुझावअनुसार नै सरकारले कोषलाई दोस्रो बजारमा प्रवेश गराएको हो ।
स्टक डिलरको काम गर्नका लागि भने कोषले सहायक कम्पनी खोल्ने कार्य अन्तिम चरणमा पुगेको बताएको छ । ‘स्टक डिलर कम्पनीमा ट्रान्सफर हुने गरी अहिले कोषकै तर्फबाट शेयर खरिद आरम्भ गरेका छौं, यसले पूँजी बजारको दिगो विकासमा सहयोग गर्नेछ’, कोषको उच्च स्रोतले बतायो ।
Visited 2 times, 1 visit(s) today


