निजगढ विमानस्थल समयमै निर्माण सम्पन्न गर्न समितिले दियो निर्देशन |

काठमाडौं । बाराको निजगढस्थित दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले निर्देशन दिएको छ । कुनै पनि बाहानामा विमानस्थल निर्माण कार्यलाई अवरोध हुन नदिई निर्धारित समयभित्र निर्माण गरिसक्नु पर्ने निष्कर्ष निकालेको छ । साथै, समितिले सो विमानस्थलबारे गरेको विस्तृत अध्ययन, अवलोकन तथा सरोकारवाला पक्षसँगको छलफलपश्चात् विमानस्थल निर्माणको क्रममा आउनसक्ने समस्या सम्बन्धमा सचेत समेत गराएको छ ।
समितिको हिजो बुधवार बसेको बैठकमा समिति सभापति दिलकुमारी रावल थापाले विमानस्थलको लागि सिमाङ्कन गरिएको क्षेत्रमा टाँगिया बस्ती, काठगाउँ बस्तीका बासिन्दा विमानस्थल निर्माणलाई सहयोग गर्ने उद्देश्यले तत्कालै स्थानान्तरण हुन तयार रहेको पाइएको जानकारी दिएकी थिइन ।
बैठकमा समितिले आयोजनाको डीपीआर तयार गरी चालु आर्थिक वर्षभित्र स्वीकृत गरिसक्न आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।
समितिले आयोजना स्थलभित्रका बस्ती स्थानान्तरण गरेपश्चात् विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक स्थानका रुख मात्र कटान गरी विमानस्थल निर्माण कार्य अविलम्ब अगाडि बढ्न र रुख काटिएवापत रोपिने नयाँ बिरुवाको सम्बन्धमा समेत योजना पेश गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।
टाँगिया बस्तीको स्थानान्तरणको लागि तत्काल उपयुक्त स्थानको टुङ्गो लगाउन तथा ती बस्तीका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गरी बस्ती व्यवस्थापनको कार्य अगाडि बढाउन आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने समितिको निष्कर्ष सुझाव तथा निर्देशनमा भनिएको छ । टाँगिया बस्ती विमानस्थलको मुख्य धावनमार्गको रुपमा रहेको छ ।
विमानस्थल निर्माणमा स्थानीय सरोकारवाला सबै एकमत भएको र आयोजना एथाशीघ्र सम्पन्न होस् भन्ने चाहेको समितिको प्रतिवेदनमा जनाइएको छ ।