हिमालयन बैंकमा विलय हुन लागेको सिभिल बैंकले कति कमायो नाफा? |
काठमाडौं । हिमालयन बैंकसँग १०० बराबर ८०.२८ अनुपातमा विलय हुन लागेको सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र ईपीएस दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ६३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.३९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २५ करोड २२ लाख रुपैयाँ रहेको छ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.९० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३७.४२ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २८.५० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ करोडबाट बढेर ४५ करोड २३ लाख रुपैयाँ पुगेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ३८ पैसा बढेर १४ रुपैयाँ ४ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ९६ पैसा रहेको छ।
पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष २४.१५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको निक्षेप ०.२३ प्रतिशत बढेको छ भने कर्जा १.२७ प्रतिशत बढेको छ।


