नेपालीको प्रतिव्यक्ति आम्दानी २४ सय अमेरिकी डलर बनाउने एमालेको घोषणा |
काठमाडौं । नेकपा एमालेले नेपालको अर्थतन्त्रलाई विश्वको उदीयमान अर्थतन्त्र बनाउने घोषणा गरेको छ । चुनावी घोषणपत्रमार्फत एमालेले राष्ट्रिय हितको रक्षा र सम्वर्द्धन : स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन भन्ने नीतिअनुसार उदयीमान अर्थतन्त्रका रुपमा विकास गर्ने जनाएको हो ।
एमालेले सफलताको न्यायोचित हिस्सेदारी सुनिश्चित गरी समतामूलक न्यायपुर्ण समाजको सुदृढ आधार तयार गरी नेपाली अर्थव्यवस्थालाई समाजवादउन्मुख बनाइने भनेको छ । ‘यस प्रक्रियामा समाजका सबै वर्ग र तप्काका समूहको सहभागिता गराई ‘विकासको समावेशी मोडेल’को कार्यान्वयन गरिनेछ’, एमालेले भनेको छ, ‘प्रारम्भमा सात प्रतशितको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी पाँच वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै यसलाई दुई अङ्कमा पुर्याइएनेछ ।
नेपाली अर्थतन्त्र लाई विश्वको उदयीमान अर्थतन्त्र बनाइने छ ।’ एमालेले हालको करिब रू.४८ खर्बको कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई आगामी पाँच वर्षभित्र रू. १०० खर्ब पुर्याउने र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर २ हजार ४ सय पुर्याउने जनाएको छ ।


