देउवाको जन्म मिति दुईटा, निर्वाचन आयोगमा पर्याे उजुरी, आयोगले भोलिसम्ममा निर्णय गर्ने |
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धामा उत्रिएका नेपाली काँग्रेस वीपीका नेता कर्ण मल्लले देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
मल्लकाे उजुरीमा मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्म मिति फरक रहेको उल्लेख छ ।
देउवाको नागरिकतामा जन्म मिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने मिति ३१ जेठ २००२ लेखिएको छ ।
जन्म मिति फरक परेको भन्दै मल्लले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा देउवाको उम्मेदवारी खारेजीको माग गरिएकाे छ ।
डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको पुष्टि गरे । उनले भने, ‘उजुरी परेको छ । उजुरीमाथि आवश्यक कारबाही सुरु भइसकेको छ ।’
देउवा विरुद्ध परेको उजुरीमाथि भोलिसम्म निर्णय हुने उनले बताए । उनले भने, ‘उजुरीमाथि छानबिन गर्न भोलिसम्म समय छ । भोलिसम्म हामी निर्णय गर्छौ ।’
उम्मेदवार विरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ ।


