दातृ निकायका आयोजनामा सरकारले बनाएको मापदण्डप्रति निर्माण व्यवसायीको आपत्ति |
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले दातृ निकायको ऋण सहयोगमा सञ्चालित आयोजनामा स्वदेशी कम्पनीले कामै गर्न नसक्ने गरी सरकारले मापदण्ड तय गरेको बताउँदै त्यसप्रति कडा आपत्ति जनाएको छ । महासंघले मंगलवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एशियाली विकास बैंक (एडीबी)लगायतका दातृ निकायको सहयोगमा सञ्चालित आयोजनामा त्यस्तो मापदण्ड तय गरेको उल्लेख गर्दै आपत्ति जनाएको हो ।
सो अवसरमा महासंघका महासचिव रोशन दाहालले विदेशी लगानीमा सञ्चालित ठूलाठूला परियोजनामा नेपाली निर्माण कम्पनीले कामै गर्न नसक्ने गरी ठेक्कासम्बन्धी मापदण्ड तय गरेपछि आफूहरूले सरकारको उक्त कदमप्रति आपत्ति जनाउनुपरेको बताए । उनले त्यसरी राखिएको मापदण्डबारे स्पष्ट जवाफ दिन पनि सरकारसँग जोडदार माग गरे ।
दाहालले नेपाली निर्माण कम्पनीलाई ठेक्कापट्टामा वञ्चित गर्दै विदेशीलाई ठेक्का दिने नियतका साथ सरकारले त्यस्तो मापदण्ड राखेको आरोप लगाउँदै सरकारको उक्त कदम आफूहरूका लागि मान्य नहुने चेतावनी दिए ।
महासंघले सडक विभाग आयोजना निर्देशनालयले एशियाली विकास बैंक (एडीबी) को आर्थिक सहायतामा सञ्चालित विद्युत् प्रसारण लाइन तथा सडकको स्तरोन्नति कार्यक्रममा राखिएको ठेक्कासम्बन्धी मापदण्डप्रति आपत्ति जनाएको हो । सो आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड विदेशी कम्पनीलाई निर्माणको जिम्मेवारी दिने गरी तय गरिएको महासंघको आरोप छ ।
महासचिव दाहालले राष्ट्रले ऋण व्यहोर्ने त्यस्ता खालका आयोजनामा नेपाली निर्माण व्यवसायीहरूले नै काम गर्न सक्ने वातावरण बनाउन सरकारसँग माग पनि गरे ।
महासंघले पूँजी विदेश पलायन हुन नदिन पनि त्यस्ता आयोजनाको ठेक्का नेपाली निर्माण व्यवसायीहरूलाई दिने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।



