खप्तड लघुवित्तको आइपीओमा आजसम्म आवेदन दिन सकिने |
काठमाडौं । खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज आइतबार भदौ १२ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । त्यसो त यस आइपीओमा शुक्रबारसम्म नै मागभन्दा निकै बढी आवेदन परिसकेको छ । सीडीएससीका अनुसार शुक्रबार दिउँसोसम्ममा यस आइपीओमा १ अर्ब ३२ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । यस कम्पनीले भदौ ८ गतेबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला हो ।
यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५% अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपीओ भर्न सक्नेछन् । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले खप्तड लघुवित्तलाई ‘केयर एनपी इस्यूअर रेटिङडबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । केयर नेपालले सन् २०२२ अप्रिल ७ मा यो रेटिङ दिएको हो । यो रेटिङ सन् २०२३ अप्रिल ३ सम्म बाहल रहनेछ ।

