धौलागिरी लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै |
काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओ आज बुधबार भदौ ८ गते बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा बिहान १० बजे बाँडफाँट गरिने छ । यता, धौलागिरी लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ७०.२२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
यो आइपीओमा ३० हजार ९२९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख २१ हजार ५३१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बरारको आवेदन परेको छ । धौलागिरीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको थियो ।
यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।


