नेपाल टेलिकमको नाफा १७.५४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी घट्यो |
काठमाडौं । गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा १७.५४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार नाफा कमाएको टेलिकमको नाफा गत आव २०७८/७९ मा ८ अर्ब ३८ करोड ८९ हजार पुगेको छ ।
कम्पनीको आम्दानी बढेसँगै नाफा बढ्न पुगेको हो। असार मसान्तसम्ममा कम्पनीको आम्दानी ५.४४ प्रतिशत बढेको छ भने अन्य आम्दानी २.५१ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी भने समीक्षा अवधिमा ५ प्रतिशत बढेको छ।
१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख रुपैयाँ सञ्चित छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.१९ प्रतिशत बढी हो।
नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने केही घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९७ पैसा घटेर ४६ रुपैयाँ ५६ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.८८ गुणा रहेको छ।



