११ दिनपछि नेप्से सूचक २१०० विन्दु तल झर्यो |
काठमाडौं । ११ कारोबार दिनपछि नेप्से सूचक २१०० विन्दु तल झरेको छ। गत ११ कारोबार दिनमा २१०० विन्दु माथि कारोबार भइरहेको नेप्से सूचक पुनः २१०० विन्दु तल झरेको हो।
सेयर बजारमा गिरावटको सिलसिला जारी रहेको छ । नेप्से सूचक तल झरिरहँदा कारोबार रकम पनि खुम्चिएको छ । यस दिन नेप्से सूचक ४३.३५ अंकले घटेर २०६०.७३ विन्दुमा आएको छ । यस दिन २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँ बराबरको ६६ लाख ४६ हजार ३६ कित्ता शेयर कारोबार भएको छ।
छोटो समय करिब ४ सय अंक बढेको बजारबाट प्रोफिट बुक गरेकाहरुले अझै पनि सक्रियरुपमा बाइ नगर्दा बजार प्रभावित हुनेक्रम जारी रहेको देखिन्छ । पछिल्ला दिनहरुमा वित्तीय प्रणालीमा निक्षेप घटिरहेको खबर सार्वजनिक भइरहेकाले पनि बजारमा त्यसको प्रत्यक्ष प्रभाव परेको अनुमान गरिएको छ ।
साउनयता शेयर बजार केहि बढेको भए पनि पछिल्लो समय बजारमा पुनः गिरावट देखिन थालेको छ। साउन मशान्त नजिकिँदै गर्दा लगानीकर्तालाई ब्याजदर बढ्न सक्ने डरले पनि सताएको छ। त्यसले पनि बजारमा नकारात्मक प्रभाव देखिएको छ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। फाइनान्स, विकास बैंक हाइड्रोपावर र अन्य उपसमूहको सूचक बढी दबाबमा देखिएका छन्। यी सूचकहरु ३ प्रतिशतभन्दा धेरैले घटेका छन्।
उच्च अंकले घटेको बजारमा भर्खर सूचीकृत भएको हिमालयन हाइड्रोपावरको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको ६.३६ प्रतिशत, युनिलिभर नेपालको ३.९५ प्रतिशत र गुडविल फाइनान्सको ३ प्रतिशतले बढेको छ।
यता, गणपति लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ७.२७ प्रतिशतले घटेको छ भने घलेम्दी हाइड्रोपावरको ६.६८ प्रतिशत पञ्चकन्या हाइड्रोपावरको ६.४९ प्रतिशत, न्यादी हाइड्रोको ६.४० प्रतिशत र मध्ये भोटेकोशी हाइड्रोपावरको ६.३१ प्रतिशतले घटेको छ।
मंगलबार नागरिक लगानी कोषको सबैभन्दा धेरै १५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको १३ करोड, हिमालयन डिस्टिलरीको १० करोड ७८ लाख र नबिल बैंकको १० करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।



