भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची | ग्यासमा अधिकतम २७३ रुपैयाँ ३८ पैसाले मूल्य बढेर आयो
काठमाडौं । भारतीय आयाल कर्पोरेसन (आइओसी)ले केहि पेट्रोलियम पदार्थको मूल्यमा सामान्य परिवर्तन गरेर पठाएको छ । नेपाल आयाल निगमका अनुसार पछिल्लोपटक अप्रिल १ मा आइओसी पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिलिटर ०.०२ रुपैयाँले, मट्टितेलमा २२ रुपैयाँ १९ पैसाले बढेर आएको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । उनले भने, ‘हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसाले बढेर आएको छ भने पेट्रोलमा १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ।’
उनका अनुसार खाना पकाउने एलपी ग्यासमा अधिकतम २७३ रुपैयाँ ३८ पैसाले मूल्य बढेर आएकाले अब खाना पकाउने ग्यासमा निगमको घाटा प्रति सिलिन्डर ९७५ रुपैयाँ पुगेको छ । पछिल्लो पटक पेट्रोलको मूल्य केही घटेर आएपनि डिजेल, मट्टितेल तथा हवाई इन्धन र एलपी ग्यासको मूल्य थप बढेर आएकाले निगमको पाक्षिक (१५ दिन) को घाटा ५ अर्ब २१ करोड रहने निगमले जनाएको छ ।
चालू आर्थिक वर्षको चैत १७ गतेसम्म निगमले करिब ३२ अर्ब रुपैयाँले नोक्सान व्यहोरिसकेको समेत निगमले जनाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ रहेको छ ।


