अम्बे स्टील्सलाई ३५ मेगावाट बिजुली दिइँदै |
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टील्स् उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत् दिने भएको छ । प्राधिकरणले अहिले स्टील्स् उद्योगलाई करिब ८ मेगावाट विद्युत् आपूर्ति दिइरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत् माग गरेको छ ।
प्राधिकरणले उद्योगसम्म विद्युत् पुऱ्याउनका लागि आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी एक महिनाभित्रमा थप २७ मेगावाटसहित कुल ३५ मेगावाट विद्युत् दिन लागेको हो । उद्योगसम्म विद्युत् पुऱ्याउनका लागि कोहलपुर सबस्टेसनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योगले पनि थप विद्युत् आपूर्ति लिनका लागि आफ्नो परिसरमा सबस्टेसन निर्माण र कारखानाको क्षमता विस्तार काम अन्तिम चरणमा पुऱ्याएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार स्थलगत अवलोकन भ्रमण गरी नेपालगञ्ज तथा कोहलपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगहरुलाई विद्युत् आपूर्ति दिन निर्माण गर्नु पर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेको छ । टोलीले नेपालगञ्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत् खपत गर्ने अम्बे स्टील्सको भ्रमण गरी एक महिनाभित्र विद्युत् आपूर्ति लिने गरी आफूले गर्नुपर्ने सम्पूर्ण पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ ।
‘


