जग्गा तथा आवास विकास संघको १५ औं साधारण सभा सम्पन्न |
काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास संघको १५ औं साधारण सभा सम्पन्न भएको छ ।
संघका अध्यक्ष ईच्छाबहादुर वाग्लेको सभापतित्वमा बुधवार काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन गर्दै संघका अध्यक्ष वाग्लेले संघका सदस्यहरुले संघको आर्थिक सुदृढीकरणका लागि सक्दो योगदान गर्नुपर्ने, कित्ताकाट फुकुवा हुनुपर्ने, शहरी विकास विधेयकलाई अन्तिम रुप दिई ऐनको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, हाउजिङ्ग प्लानिङ्गको प्रकृया सहज बनाउनुपर्ने बताएका छन् ।
संघले काठमाडौं उपत्यका बाहिर पनि व्यवस्थित शहरीकरणका आयोजना सञ्चालन गर्नुपर्ने तथा नेपाल राज्यभर रियल इस्टेट उद्योगको विकासका लागि एउटा छाता संगठनको रुपमा महासंघ गठन गर्नुपर्नेसमेत उनले बताएका छन् ।
कार्यक्रममा संघका उपाध्यक्ष त्रय विदुर धमला, दीपक कुँवर एवं भेषराज लोहनी, निवर्तमान अध्यक्ष मीनमान श्रेष्ठ र संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठले संघको सुदृढीकरण तथा रियल इस्टेट उद्योगको प्रवद्र्धन सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।
साधारण सभामा संघको कार्य समितिका पूर्वपदाधिकारी तथा सदस्यहरु, संघका संस्थापक, आजीवन तथा साधारण सदस्यहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सभाले महासचिव पुरुषोत्तम पौडेलले पेश गरेकोे वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तुलसीप्रसाद अधिकारीद्वारा प्रस्तुत आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन पारित गर्दै संघ समेतको पहलमा नेपाल जग्गा तथा आवास विकास महासंघ गठन गर्ने प्रस्तावलाई अनुमोदन गर्यो ।
सभाको समापन गर्दै अध्यक्ष वाग्लेले संघलाई एउटा सबल, सुदृढ र प्रतिष्ठित संस्थाको रुपमा स्थापित गर्न आफू पूर्णरुपले दत्तचित्त भई सबै व्यवसायीहरुको हक हितको लागि निरन्तररुपमा प्रयाशरत रहने प्रतिबद्धता प्रकट गरे ।


