सात महिनामै १० खर्बभन्दा बढिको व्यापार घाटा |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म ५० प्रतिशत भन्दा माथिको दरमा बढिरहेको आयात सातौं महिनापछि भने केही थामिएको छ । सात महिनामै व्यापार घाटा १० खर्ब नाघेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को सातौं महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांक अनुसार साउनदेखि माघसम्म कुल ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ४२.७८ प्रतिशत बढी हो । यसअघि पहिलो ६ महिनासम्म आयात ५१.१३ प्रतिशतले बढेको थियो । आयातको उच्च वृद्धि दर चालु आवको पहिलो महिनाबाटै उच्च छ ।
अर्थ मन्त्रालयका अनुसार कोभिड–१९ को प्रभाव कम भएपछि पछिल्लो दुई वर्षयता रोकिएका आर्थिक गतिविधि एकसाथ अगाडि बढेका कारण यो वर्ष आयात उच्च भएको हो । एकातर्फ उच्च आयात र अर्कोतर्फ रेमिट्यान्स कम हुनु तथा पर्यटक आगमन समेत कम भएपछि विदेशी मुद्राको सञ्चितिमा चाप परेको छ । यसलाई कम गर्न सरकारले अघिल्लो महिनाबाट निश्चित वस्तुको आयातमा कडाइ गरिरहेको छ । त्यसको प्रभाव माघ महिनाको वैदेशिक व्यापारमा देखिएको हो । यसका बावजुत माघ महिनामा मात्र १ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ बराबरको आयात भएको छ । पुस मसान्तसम्म आयात ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ थियो ।
सातौं महिनामा निर्यातको वृद्धिदर समेत केही कम भएको छ । पहिलो ६ महिनासम्म शतप्रतिशतले बढेको निर्यात सातौं महिनामा ८८.३० प्रतिशतले मात्र बढेको छ । माघसम्म १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु नेपालले निर्यात गरेको छ । अघिल्लो आवको यसै महिनामा निर्यात ६९ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । एक महिना (माघमा मात्र)मा १२ अर्ब ८० करोड रुपैयाँको निर्यात भएको छ ।
चालु आर्थिक वर्षको सातौं महिनामै व्यापार घाटा १० खर्ब १५ अर्ब ५८ करोड रुपैयाँ बराबर पुगेको छ । गत वर्ष यही अवधिमा ७ खर्ब ३३ अर्ब ७२ करोडको व्यापार घाटा थियो ।
यो वर्षको व्यापार घाटा गत वर्षको तुलनामा ३८.४५ प्रतिशतले बढी देखिएको छ ।
यो वर्ष ११ खर्ब ४७ अर्बको आयात र १ खर्ब ३१ अर्बको निर्यात भएको छ । सोहीकारण आयातले कुल वैदेशिक व्यापारमा ८९.७१ प्रतिशत हिस्सा ओगटेको छ । निर्यातको हिस्सा मात्र १०.२९ प्रतिशत छ ।
जसले गर्दा कुल १० खर्ब १५ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको भन्सार विभागको तथ्यांक छ । सातौं महिनामा कुल १२ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४६.४३ प्रतिशत धेरै हो ।


