अनुत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाइ गर्ने राष्ट्र बैंकको तयारी |
काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्र र अन्य क्षेत्रको ब्याजदर फरक हुनेगरी कर्जाको ब्याजदर कायम गर्ने भएको छ।
केन्द्रीय बैंकले बिहीबार मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाहरुमध्ये उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदरभन्दा कम हुने गरी फरक पार्ने सम्वन्धमा अध्ययन गरिने जनाएको छ।
यो व्यवस्था आगामी त्रैमासदेखि कुनै एक क्षेत्रबाट नमूनाकोरुपमा कार्यान्वयनमा ल्याइने केन्द्रीय बैंकले जनाएको छ।
यसले उत्पादनमूलक क्षेत्रको ब्याजदर तुलनात्मक रुपमा कम हुने देखिएको छ।
यसअघि सिविफिनले उत्पादनमूलक क्षेत्र र अन्य क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक हुनुपर्ने सुझाव दिएको थियो।
यस्तै बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने जनाएको छ।


